२०८३ वैशाख १७ , बिहीबार

युद्ध होइन, दबावको कूटनीति : ट्रम्पको नयाँ चाल



अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पले इरानसँगको तनाव समाधानका लागि प्रत्यक्ष सैन्य आक्रमणभन्दा “आर्थिक र मनोवैज्ञानिक दबाव”लाई प्राथमिकता दिएको संकेत दिएका छन्। युद्धविराम अनिश्चितकालसम्म लम्ब्याउने निर्णयले उनको रणनीति केवल युद्ध टार्ने नभई वार्तामा इरानलाई कमजोर अवस्थामा ल्याउनेतर्फ केन्द्रित देखिएको छ।

ट्रम्पले समय थप्दै एकातिर कूटनीतिक ढोका खुला राखेका छन् भने अर्कोतर्फ स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी कायम राखेर इरानमाथि आर्थिक नाकाबन्दीको प्रभाव बढाइरहेका छन्। विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने यस क्षेत्रमा नियन्त्रणले इरानको व्यापार र तेल निर्यातमा प्रत्यक्ष असर पार्ने भएकाले यो कदम रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।

इरानले वार्ता अघि नाकाबन्दी हटाउनुपर्ने अडान लिएको भए पनि ट्रम्प त्यसमा झुक्न तयार देखिएका छैनन्। यसले देखाउँछ कि अमेरिका तत्काल सम्झौता भन्दा पनि “पहिले दबाव, पछि सम्झौता”को लाइनमा छ।यसबीच शहबाज शरीफ र आसिम मुनीर को आग्रहमा युद्धविराम लम्ब्याइएको दाबीले क्षेत्रीय शक्ति सन्तुलन र मध्यस्थताको भूमिकालाई पनि संकेत गर्छ।

विश्लेषकहरूका अनुसार डोनाल्ड ट्रम्प को यो कदम बहुआयामिक रणनीतिअन्तर्गत आएको देखिन्छ। उनी एकातिर अमेरिकाभित्रै अलोकप्रिय बन्दै जाने सम्भावित युद्धबाट टाढा रहन चाहिरहेका छन्, किनकि लामो सैन्य संलग्नताले राजनीतिक रूपमा नकारात्मक असर पार्न सक्छ। अर्कोतर्फ, इरान माथि आर्थिक दबाव कायम राखेर त्यसलाई वार्तामा झुकाउने प्रयास पनि स्पष्ट देखिन्छ। विशेषगरी स्ट्रेट अफ होर्मुज जस्तो संवेदनशील क्षेत्रमा नाकाबन्दी कायम राख्नुले इरानको व्यापार र ऊर्जा निर्यातमा प्रत्यक्ष असर पार्ने भएकाले यो दबाव अझ प्रभावकारी बन्ने अनुमान गरिएको छ। यससँगै, ट्रम्पले वार्ताको टेबलमा अमेरिकाका सर्तहरू हाबी गराउने उद्देश्यले समय र दबाव दुवैलाई कूटनीतिक उपकरणका रूपमा प्रयोग गरिरहेका छन्, जसले अन्ततः सम्झौताको रूपरेखा अमेरिकाअनुकूल बनाउन मद्दत पुर्‍याउन सक्छ।

प्रकाशित मिति : २०८३ वैशाख ९ गते बुधबार
अरु पनि पढ्नुहोस्