२०८३ असोज २४ , शनिबार

वडा अध्यक्षमाथि कुटपिट घटना: अनुसन्धानका लागि समिति गठन



सुर्खेत । रुकुम पश्चिमका एक वडाअध्यक्षलाई प्रहरीले पक्राउगरी कुटपिट गरेकाे भनिकएको घटनाकाे छानविनका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयले छानविन समिति गठन गरेको छ । आठबिसकोट नगरपालिका–३ का अध्यक्ष केशरमान बिकलाई पक्राउ गरी हिरासतमा कुटपिट गरिएको आरोपबारे छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद घर्ती मगरको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो।
वडाध्यक्ष विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो। प्रहरीका अनुसार अभद्र व्यवहारसम्बन्धी जाहेरी परेका उनका भाइ गोपाल विक भनिने वीरेन्द्र विकलाई पक्राउ गर्न गएको प्रहरी टोलीसँग वडाध्यक्षले विवाद गरेका थिए।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार गोपाललाई पक्राउ गर्न खोज्दा वडाध्यक्ष विकले प्रहरीको काममा अवरोध गर्नुका साथै धकेलाधकेल र हातपात गरेको तथा प्रहरीको पोसाकसमेत च्यातेको आरोप छ। यही घटनाका आधारमा उनलाई राष्ट्रसेवकलाई काममा बाधा पुर्‍याएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
तर विकको परिवार तथा नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमले भने उनलाई छलफलका लागि भन्दै प्रहरी कार्यालयमा बोलाएर पक्राउ पुर्जीबिनै हिरासतमा राखी कुटपिट गरेको आरोप लगाएको छ। पार्टीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार
अरु पनि पढ्नुहोस्