२०८३ असोज २५ , आइतबार

भारतीय चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन



 


भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको आज बिहान गोवामा रहेको आफ्नै निवासमा निधन भएको हो ।

पाटेकरलाई गोवामा रहेको निवासमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो । चिकित्सकहरूले झण्डै ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने प्रयास गरे पनि उनलाई बचाउन नसकिएको अस्पतालका चिकित्सक डा। शेखर साल्करलाई उद्धृत गर्दै द इन्डियन एक्सप्रेसले जनाएको छ । निधनको यकिन कारण भने पोस्टमार्टमपछि मात्रै स्पष्ट हुने खबरमा उल्लेख छ । पाटेकरको निधनले भारतीय चलचित्र क्षेत्र र उनका प्रशंसकलाई स्तब्ध बनाएको छ ।

सन् १९५१ जनवरी १ मा महाराष्ट्रको मुरुड–जन्जिरामा जन्मिएका विश्वनाथ पाटेकर अर्थात् नाना पाटेकरले सन् १९७८ मा ‘गमन’बाट चलचित्र क्षेत्रमा अभिनय यात्रा शुरु गरेका थिए । हिन्दी र मराठी दुवै भाषाका चलचित्रमा काम गरीसकेका उनी अभिनयसँगै लेखक र निर्देशकका रूपमा पनि परिचित थिए । ‘सलाम बम्बे’, ‘परिन्दा’, ‘अंगार’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी स् द म्युजिकल’, ‘गुलाम–ए–मुस्तफा’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’, ‘वेलकम’लगायत चलचित्रमा उनले सम्झनलायक भूमिका निर्वाह गरेका छन् ।

७५ वर्षको उमेरमा पनि पाटेकर अभिनयमा सक्रिय रहेका थिए । गम्भीर, खलनायक, प्रहरी, राजनीतिक पात्रदेखि हास्य भूमिकासम्मलाई आफ्नै शैलीमा प्रस्तुत गर्ने उनको क्षमता भारतीय चलचित्रमा अलग पहिचानका रूपमा स्थापित थियो । उनको निधनसँगै हिन्दी तथा मराठी चलचित्र क्षेत्रले एक प्रभावशाली अभिनेता गुमाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार
अरु पनि पढ्नुहोस्