२०८३ असोज २४ , शनिबार

महिला जनप्रतिनिधिको अर्थपूर्ण सहभागिताका लागि वडा नेतृत्वको भूमिका विषयक अन्तरक्रिया सम्पन्न



सुर्खेत । स्थानीय शासन प्रक्रियामा निर्वाचित महिला जनप्रतिनिधिहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न वडा अध्यक्ष र वडा सचिवको भूमिका विषयमा वीरेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

दलित महिला केन्द्र नेपालले आयोजना गरेको उक्त कार्यक्रम शुक्रबार वीरेन्द्रनगरस्थितमा  सम्पन्न भएको हो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका वडा अध्यक्ष, वडा सचिव, कार्यपालिका सदस्य तथा निर्वाचित महिला जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय सरकारका निर्णय प्रक्रियामा महिलाको पहुँच र सहभागिता अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव तथा विज्ञ कृष्णहरि बाँस्कोटाले स्थानीय सरकारका निर्णय प्रक्रियामा महिला जनप्रतिनिधिहरूको पहुँच र सहभागितासम्बन्धी विषयमा सहजीकरण गरेका थिए । उनले स्थानीय तहमा महिला जनप्रतिनिधिको सहभागितालाई प्रभावकारी बनाउन वडा नेतृत्वको भूमिका महत्त्वपूर्ण हुने विषयमा प्रकाश पारेका थिए ।

त्यस्तै, निर्वाचित महिला जनप्रतिनिधि तथा दलित महिलाको सहभागिता र अधिकार सुनिश्चित गर्न संस्थागत रूपमा गर्नुपर्ने सहयोग तथा कार्ययोजनाका विषयमा समेत छलफल गरिएको थियो । स्थानीय तहका योजना निर्माण, निर्णय प्रक्रिया तथा कार्यान्वयनमा महिला जनप्रतिनिधिहरूको भूमिका प्रभावकारी बनाउने विषयलाई अन्तरक्रियामा प्राथमिकता दिइएको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद भट्टराई, द एसिया फाउण्डेसनका कर्णाली प्रदेश संयोजक विशाल आचार्य तथा दलित महिला केन्द्र नेपाल (CDWN) की कार्यक्रम संयोजक हिर्जु रसाइलीलगायतको सहभागिता रहेको थियो ।
दलित महिला केन्द्र नेपालले दलित तथा सीमान्तकृत महिलाको अधिकार संरक्षण, प्रवर्द्धन, आर्थिक सशक्तीकरण र आत्मसम्मान अभिवृद्धिका क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले अस्ट्रेलिया सरकारको परराष्ट्र तथा व्यापार विभाग (DFAT) को आर्थिक सहयोग र द एसिया फाउण्डेसनको प्राविधिक सहयोग तथा वीरेन्द्रनगर नगरपालिकासँगको समन्वयमा ‘प्रभावकारी र समावेशी स्थानीय सरकार सबलीकरण कार्यक्रम’ सञ्चालन गरिरहेको छ ।
अन्तरक्रिया कार्यक्रमले स्थानीय शासनमा निर्वाचित महिला जनप्रतिनिधिहरूको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्न तथा वडा नेतृत्वलाई थप जिम्मेवार र सहयोगी बनाउन सहकार्यको आवश्यकतामाथि जोड दिएको छ ।

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रबार
अरु पनि पढ्नुहोस्