सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० घुस्रा रोडस्थित तिनकुने चोकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएपछि आफन्त आन्दोलनित बनेका छन् । आज बिहान करिब ७ बजेको समयमा घुस्राबाट तिनकुने चोकतर्फ जाँदै गरेको लु ७२ प २००९ नम्बरको बुलेट मोटरसाइकलले दैलेखको भैरवी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर–१० बुदबुदेमा बस्दै आएका ३७ वर्षीय विवेक थापा र उनकी २९ वर्षीया श्रीमती सुनिता थापालाई पैदल हिँडिरहेका बेला एक्कासि ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट उनीहरूको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । वीरेन्द्रनगर–१० का मोटरसाइकल चालक २२ वर्षीय दीपेश चौधरी अनुहारमा चोट लागेर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी कविन्द्र सिंह बोहराका अनुसार घटनापछि उनीहरूलाई कर्णाली प्रदेश अस्पताल लगिएको थियो ।
प्रदेश अस्पतालमा उपचार सम्भव नभएपछि तीनै जनालाई थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको थियो । तर, नेपालगन्जतर्फ लैजाँदै गर्दा घाइते विवेक थापाको बिहान ९:५० बजे मृत्यु भएको थियो । घटनापछि आक्रोशित बनेका आफन्तले वीरेन्द्रनगर–१० तिनकुनेस्थित सुर्खेत–जुम्ला फोरलेन सडक ठप्प पारेका छन् ।
उचित क्षतिपूर्ति र पीडकलाई कारबाहीको माग राखेर आन्दोलनमा उत्रिएका परिवार र आफन्तसँग प्रशासनले गरेको छलफल निष्कर्षमा नपुगेपछि सडक अवरुद्ध गरिएको हो । आफन्तहरूले सडकमा नाराबाजीसहित टायर बालेर विरोध गरिरहेका छन् । आफ्ना माग पूरा नभएसम्म सडक संघर्ष जारी राख्ने उनीहरूको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्