२०८३ असोज २४ , शनिबार

गुणस्तरीय र समावेशी शिक्षाका लागि जवाफदेहिता अपरिहार्य



सुर्खेत । गुणस्तरीय र समावेशी शिक्षा सुनिश्चित गर्न शिक्षा क्षेत्रमा संलग्न सरकारी निकाय, विद्यालय व्यवस्थापन तथा सरोकारवालाको जवाफदेहिता अपरिहार्य रहेकोमा कर्णाली प्रदेशका सरोकारवालाले जोड दिएका छन् ।

कारखाना समूहले शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘नीतिलाई कार्यान्वयनमा रूपान्तरण गर्दै : प्रभावकारी कक्षाकोठाका लागि सरोकारवालाको साझा जवाफदेहिता’ विषयक प्रादेशिक अनुभव आदानप्रदान तथा प्रदर्शनी कार्यक्रममा सहभागीले शिक्षा सुधारका लागि नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन र सम्बन्धित पक्षको जिम्मेवारी सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य तथा सामाजिक विकास समितिका सदस्य रनसिंह परियारले अपाङ्गता भएका बालबालिका, सीमान्तकृत समुदाय तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका विद्यार्थीको शिक्षामा पहुँच, सहभागिता र सिकाइ सुनिश्चित गर्न राज्यका निकाय जिम्मेवार हुनुपर्ने बताए ।

प्रदेशमा निर्माण भएका शिक्षा नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने उनको भनाइ थियो । नीतिमा उल्लेख गरिएका व्यवस्था कार्यान्वयन भए–नभएको अनुगमन गर्दै सम्बन्धित निकायलाई जिम्मेवार बनाउनुपर्ने उनले बताए ।

कारखाना समूहका कार्यकारी निर्देशक सचेत मानन्धरले शिक्षा क्षेत्रमा सुधार ल्याउन नीतिगत पैरवीसँगै कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउनुपर्ने बताए । कर्णालीका केही जिल्लामा शिक्षा सुधारका लागि काम गर्दा अपेक्षित प्रतिफल न्यून देखिएकाले नीतिगत तहबाटै सुधारका प्रयास आवश्यक रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा सहभागी माया सापकोटाले शिक्षा क्षेत्रमा राज्यको लगानी बढाउनुपर्ने बताइन् । संविधानले प्रत्याभूत गरेका आधारभूत शैक्षिक अधिकारसमेत पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक व्यवस्थालाई व्यवहारमा उतार्न सम्बन्धित निकायले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने धारणा राखिन् ।

कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, नागरिक समाज तथा अन्य सरोकारवालाको सहभागिता थियो । सहभागीहरूले शिक्षा क्षेत्रमा विनियोजित बजेटको प्रभावकारी उपयोग, नीतिको कार्यान्वयन, नियमित अनुगमन तथा सम्बन्धित निकायको जवाफदेहिता सुनिश्चित गर्न सके मात्र गुणस्तरीय र समावेशी शिक्षा प्रदान गर्ने लक्ष्य हासिल गर्न सकिनेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रबार
अरु पनि पढ्नुहोस्