सुर्खेत । दशैं, तिहार, छठ तथा नेपाल संवत्को अवसरमा सुर्खेत बहुमुखी क्याम्पसमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कानुन संकायमा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा तथा क्याम्पसको समन्वयमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागी वक्ताहरूले चाडपर्वले आपसी सद्भाव, सामाजिक एकता र भाइचाराको सम्बन्ध बलियो बनाउने उल्लेख गर्दै विद्यार्थीहरूलाई अध्ययनसँगै सामाजिक उत्तरदायित्वका गतिविधिमा पनि सक्रिय हुन आग्रह गरेका थिए । विशेषगरी कानुन संकायका विद्यार्थीहरूले आफ्नो अध्ययनबाट प्राप्त ज्ञानलाई समुदायमा पुर्याउँदै कानुनी सचेतना अभिवृद्धिमा योगदान गर्न सक्ने उनीहरूको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख माधवप्रसाद खनालले कानुन संकायका विद्यार्थीमार्फत समुदायमा विभिन्न सिर्जनात्मक तथा रचनात्मक गतिविधि सञ्चालन गर्न सकिने बताए । विद्यार्थीहरूमा रहेको ज्ञान, सीप र ऊर्जालाई सामाजिक हितमा उपयोग गर्न सके त्यसले समुदायमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने उनको भनाइ थियो । ‘कानुन संकायका विद्यार्थीमार्फत समुदायमा कानुनी सचेतना अभिवृद्धि गर्न सकिन्छ,’ उनले भने, ‘विद्यार्थीहरूले गर्ने यस्ता रचनात्मक काममा क्याम्पस प्रशासन आवश्यक सहयोग र समन्वय गर्न तयार छ ।’ उनले विद्यार्थीलाई पढाइसँगै सामाजिक सेवामा पनि जोडिन आग्रह गर्दै क्याम्पस र समुदायबीचको सम्बन्धलाई थप बलियो बनाउन यस्ता कार्यक्रम उपयोगी हुने बताए ।

कानुन संकायका उप्राध्यापक गीता काेइरालाले कानुनको अध्ययन कक्षाकोठामा सीमित नराखी व्यवहारमा उतार्नुपर्नेमा जोड दिइन । समाजमा अझै पनि कानुनी प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा नागरिकले आफ्ना अधिकार र कर्तव्यबारे स्पष्ट जानकारी पाउन नसकेको उल्लेख गर्दै उनले विद्यार्थीहरूले समुदायस्तरमा कानुनी सचेतनाका कार्यक्रम सञ्चालन गर्न सक्ने बताइन । विद्यार्थीले सिकेको ज्ञान समाजका लागि उपयोगी बनाउन सके शिक्षाको व्यावहारिक महत्त्वसमेत बढ्ने उनको धारणा थियो ।
कार्यक्रमका सभाध्यक्ष तथा कानुन संकायका विद्यार्थी महेन्द्रविक्रम बिसीले कानुनी सचेतना समाजका लागि महत्त्वपूर्ण विषय भएको बताए । नागरिकलाई कानुन, अधिकार र कर्तव्यबारे जानकारी गराउन सके समाजमा देखिने विभिन्न कानुनी समस्या समाधान गर्न सहयोग पुग्ने उनको भनाइ थियो । बिसीले कानुनका विद्यार्थीले आफ्नो अध्ययनलाई सामाजिक सेवासँग जोड्नुपर्ने उल्लेख गर्दै आगामी दिनमा विद्यार्थीहरू स्वयम्सेवी रूपमा विभिन्न रचनात्मक गतिविधिमा सहभागी हुने बताए । समुदायमा कानुनी सचेतना फैलाउने, नागरिकलाई कानुनी अधिकारबारे जानकारी गराउने तथा सामाजिक समस्याको पहिचान र समाधानका लागि सहयोग पुर्याउने कार्यमा विद्यार्थीले भूमिका खेल्न सक्ने उनले बताए ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुखद्वय रत्नप्रसाद पाण्डे र प्रेमबहादुर थापा, व्यवस्थापन संकायका प्रमुख देवेन्द्रकुमार वाग्ले तथा कानुन संकायका उपप्राध्यापकहरू गीता कोइराला, शर्मिला विक र दीप्ति थापालगायत व्यवस्थापन संकायका उपप्राध्यापकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमले चाडपर्वको अवसरमा आपसी शुभकामना आदानप्रदान गर्नुका साथै विद्यार्थी र प्राध्यापकबीचको सम्बन्ध सुदृढ गर्न तथा कानुनी सचेतनामार्फत समुदायमा योगदान पुर्याउने विषयमा सहकार्यको महत्त्व उजागर गरेको छ ।


प्रतिक्रिया दिनुहोस्