
सुर्खेत ।
सुर्खेतको चिंङ्गाड गाउँपालिकामा पालिका केन्द्रको विषयमा विवाद हुँदा एक हप्तादेखि सेवा प्रभावित भएको छ ।
गाउँपालिकाको अस्थायी केन्द्र वडा नं ५ अवल्चिङ्गबाट सेवा प्रवाह हुँदै आएकोमा वडा नं. २ स्थित राजीकुनाबाट सेवा प्रवाह गर्न खोजेपछि विवाद भएको हो । २६ चैतमा सम्पन्न गाउँसभाले गाउँपालिकाको प्रशासनिक कामकाज सामुदायिक भवन राजीकुनाबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा उपाध्यक्ष मिना कुमारी रोकायसहित वडा नं. पाँचबाट निर्वाचित चार जनाले फरक मत राखेका थिए ।
पालिका केन्द्र निर्धारणका लागि २०७५ माघ ७ गते मतदानबाट गाउँसभाको दुइतिहाईले वडा नं २ पुङ खेत पालिकाको केन्द्र निर्धारण गरेको थियो । नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले चिङ्गाड गाउँपालिकाको केन्द्र चिङ्गाड गाउँपालिका वडा नं ५ अवलचिङ बाट हेरफेर भइ वडा नं २ पुङ खेत हुने गरी २०७८ साउन ११ गतेको राजपत्रमा सूचना प्रकाशन गरिसकेको छ ।
तर अवल्चिङ्गमै केन्द्र हुनपर्छ भन्ने पक्षले उक्त निर्णय विरुद्ध अदालतमा रिट निवेदन दिएको छ । पुङ खेत भौगोलिक हिसाबले पालिका केन्द्र बनाउने मापदण्ड विपरित रहेको भन्दै निर्णय बदर गर्नुपर्ने रिट निवेदकको माग छ । सर्वोच्व अदालतले निर्णय तत्काल कार्यान्वयन नगर्न तथा प्रसाशनिक संरचना नबनाउन अन्तरिम आदेश दिएको छ । तर लामोसमयसम्म मुद्धाको फैसला नहुँदा चिङ्गाड गाउँपालिकाको केन्द्र विवाद समाधान हुनसकेको छैन ।
मुद्धा विचाराधिन रहेकै अवस्थामा राजीकुनाबाट गाउँपालिकाको कार्यालय सञ्चालन गर्ने निर्णय गरेपछि जनस्तरमै विवाद चुलिएको छ । गाउँपालिका अध्यक्षसहित पाँच वटा वडाका जनप्रतिनिधि राजीकुनाबाट सेवा प्रवाह सुरु गर्ने पक्षमा छन भने मुद्धाको फैसला नभएसम्म पहिलेकै ठाउँबाट कामकाज गर्नुपर्ने अवल्चिङ्गको अडान छ ।
एक सय सुरक्षाकर्मी परिचालन
अवल्चिङ्गस्थित कार्यालयबाट सामान लिन खोजेपछि स्थानीयवासीबीच नै झण्डै मुडभेडको अवस्था सिर्जना भएको छ । अवल्चिङ्गका स्थानीय सामान सार्न नदिन आइतबारदेखि रातादिन धर्ना बसेका छन् । अन्य वडाका केही स्थानीय पनि कर्मचारीलाई कार्यालयको सामान सार्न नदिए आफूहरु नै गएर ल्याउनेगरी प्रस्तुत भैरहेका छन् । जसले गर्दा आइतबारदेखि जनस्तरमै वाद विवाद बढेको छ । तनावको स्थिति सिर्जना भएपछि उक्त स्थानमा सोमबारबाट बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ । हुनसक्ने संभावित दुर्घटनालाई मध्यनजर गरेर सुरक्षाकर्मी खटाइएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले बताए । सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर एक सय सुरक्षाकर्मी खटाइएको प्रजिअ उपाध्यायले जानकारी दिए ।
चेपुवामा कर्मचारी, काममा अलमल
पालिका केन्द्र सार्ने विषयको विवादले पालिकामा कार्यरत कर्मचारी चेपुवामा परेका छन् । जनप्रतिनिधि र जनस्तरको दबावले कहाँबाट कसरी सेवा प्रवाह गर्ने भन्ने विषयमा कर्मचारीहरु अन्यौलमा छन् । गाउँपालिका अध्यक्ष बोधविक्रम जिसीले गाउँसभामा भएको निर्णयलाई कार्यान्वयन गर्न कर्मचारीहरुलाई दबाव दिइरहेका छन भने अवल्चिङ्ग पक्षधरले कार्यान्वयन नगर्न खबरदारी गरिरहेका छन् ।
हाल इन्जिनियर राज कुमार भट्ट निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् । गाउँसभाको सदस्य सचिव भूमिका रहेका प्रमुख प्रशासकीय अधिकृत भट्टले अदालतमा विचाराधिन मुद्धाको विषयमा निर्णय भएको भन्दै गाउँसभामा उपस्थित भएर पनि माइन्यूटमा उपस्थिति जनाएनन । चैत २७ गतेदेखि अवल्चिङ्गस्थित कार्यालय खुलेको छैन, न त राजीकुनाबाट नै सेवा प्रवाह भएको छ । करार सेवा तर्फका केही कर्मचारी राजीकुनामा उपस्थित भएपनि कार्यालय प्रमुखसहित स्थायी कर्मचारीहरु २७ गतेदेखि कार्यालयमा उपस्थित भएनन । बैशाख ४ गते राजीकुनामा आयोजित सार्बजनिक सुनुवाई कार्यक्रममा सहभागी हुन गएका प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीलाई राखेर अध्यक्षले सोमबार देखि राजनीकुनाबाटै नियमित सेवा प्रवाह गर्न लिखित र मौखिक निर्देशन दिएकाथिए । सोमबार राजीकुनामा कर्मचारीहरु उपस्थित भएपनि बढ्दो विवादले सेवा प्रवाह हुन नसकेको कार्यालय प्रमुख भट्टले बताए । राजनीतिक विवादले गर्दा कर्मचारहिरु अनावश्यक चेपुवामा परेको भट्टले दुखेसो गरे । अहिलेको अवस्थामा अवल्चिङ्ग वा राजीकुना जहाँबाट कार्यालय सञ्चालन गरेपनि कर्मचारीहरु असुरक्षित रहेको भन्दै भट्टले संवादबाट विवाद समाधान गरेर शान्तिपूर्ण रुपमा सेवा प्रवाह गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।
दुबै पक्षको आ–आफ्नै अडान
सबैलाई पायक पर्नेगरी गाउँसभाले निर्णय गरेको ठाउँ सेवा दिनुपर्ने जनताको माग र अदालतबाट भैरहेको ढिलाइले अहिलेको अवस्था आएको गाउँपालिका अध्यक्ष बोधविक्रम जि.सी.को भनाइ छ । ‘एउटा वडा अल्चिङ्गले भनेको ठाउँ हुने अरु पाँच–पाँच वटा वडाले भनेको ठाउँ किन नहुने भनेर जनताले प्रश्न गरिरहेका छन’ अध्यक्ष जिसीले भने,‘मेरो कुरा होइन अब जनता रोक्न सकिनेवाला छैन ।’ अदालतको निर्णय आएपछि जहाँ हुन्छ त्यही स्थायी संरचना बनाउने गरी हाल सहजताका लागि काम काग राजीकुनास्थित सामुदायिक भवनबाट हुने अध्यक्ष जिसीले बताए ।
अध्यक्ष जिसीले छलफबाट विवाद समाधान गर्न वार्ता बोलाउँदा अवल्चिङ्गबाट सहभागिता नभएको दाबि गरे । यता वडा नं.५ अवल्चिङ्गका अध्यक्ष लालबहादुर जिसीले भने आफूहरु छलफलबाटै विवाद समाधान गर्नुपर्ने पक्षमा रहेको बताउँदै कहाँ छलफल गर्ने भन्ने विषयमामा कुरा नमिल्दा केही ढिलाइ भएको बताए । ‘हामी पनि वार्ताबाटै समाधान निकाल्नुपर्छ भन्ने पक्षमा भएर वार्ताका लागि सात सदस्यीय टोली गठन गरेका छौँ’ वडा अध्यक्ष जिसीले भने,‘उहाँहरुले राजीकुना भन्नुभयो हामीले इलाका प्रहरी कार्यालय अवल्चिङ्गमा बसौँ भनेका थियौँ । ठाउँका विषयमा नमिलेको कुरा नमिलेको हो ।’
प्रकाशित मिति : २०८३ वैशाख ७ गते सोमबार
प्रतिक्रिया दिनुहोस्