
सुर्खेत : आज विश्व स्वास्थ्य दिवस २०८२ कर्णाली सहित नेपालभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाले सुर्खेतको वीरेन्द्रनगरमा मानव, पशुपन्छी र वातावरणको हितसम्बन्धी सञ्चारकर्मीसँग अन्तक्र्रिया गरेको हो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेशमा पछिल्लो समय स्वास्थ्य सेवा विस्तार भएको उल्लेख गरे। उनले पहिले जिल्लामा एक मात्रै शाखागत अधिकृत रहने अवस्था रहेकोमा अहिले सुधार भई पालिकास्तरसम्म विषयगत शाखा तथा स्वास्थ्य, पशु र भेटेनरी अधिकृत पुगिसकेको बताए ।
मन्त्री भण्डारीले कर्णाली प्रदेश भित्रिने बर्दिया–सुर्खेत सीमास्थित हर्रेमा तरकारीको विषादी परीक्षण गर्ने प्रयोगशाला सञ्चालनमा ल्याउन अझै चुनौती रहेको स्वीकार गरे । उनले सुर्खेत जिल्लाका ९ पालिका मध्ये वीरेन्द्रनगरमा बढ्दो बसाइँसराइको दबाब रहेको र अन्य पालिकालाई उत्पादनसँग जोड्न नसकिए भविष्यमा गम्भीर संकट आउन सक्ने चेतावनी दिए । प्रदेश सरकारले स्वास्थ्य नीति चाँडै ल्याउने तयारी गरिरहेको जनाउँदै उनले ‘वन हेल्थ’ नीतिको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिइने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै स्वास्थ्य सेवा महाशाखाका डा. शंकर रिजालले ‘वन हेल्थ’ रणनीतिमार्फत मानव, पशु र वातावरणीय स्वास्थ्यलाई एकीकृत रूपमा अगाडि बढाउन आवश्यक रहेको बताए । उनले उत्थानशील स्वास्थ्य प्रणाली विकासका लागि विभिन्न क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे । डा. रिजालका अनुसार मानव, पशु र वातावरणीय निकायबीच प्रभावकारी समन्वयको अभाव, विकासशील देशमा सीमित बजेट र प्राविधिक जनशक्ति, तथा प्रयोगशाला पूर्वाधारको कमीले ‘वन हेल्थ’ रणनीति कार्यान्वयनमा कठिनाइ भइरहेको छ ।
साथै, पशुपालन, कृषि र मानव स्वास्थ्य क्षेत्रमा अत्यधिक औषधि प्रयोगका कारण एण्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) बढ्दो चुनौतीका रूपमा देखिएको उनले बताए । तथ्याङ्क एकीकरणमा समस्या, कमजोर प्रयोगशाला सेवा, ग्रामीण क्षेत्रमा स्वास्थ्यप्रतिको समग्र बुझाइ अभाव तथा कृषि र औषधि प्रयोगमा दीर्घकालीन परिवर्तन ल्याउन कठिनाइ जस्ता विषयहरू पनि चुनौतीका रूपमा रहेका छन्। ।
विश्व स्वास्थ्य सङ्गठनको स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष अप्रिल ७ मा विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ । सन् १९४८ मा स्थापना भएको उक्त सङ्गठनमा नेपाल सन् १९५३ मा सदस्य राष्ट्र बनेको थियो ।
प्रतिक्रिया दिनुहोस्