२०८३ असोज २५ , आइतबार

सुर्खेतको गढीमा रहेको ढुंगे स्तम्भको अध्ययन गर्दै चिनियाँ टोली



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–१४ गढीमा रहेको ऐतिहासिक ढुंगे स्तम्भको अध्ययन सुरु गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका ऐतिहासिक खम्बा तथा स्तम्भको अध्ययनमा रहेको त्रिभुवन विश्वविद्यालयको चिनियाँ विज्ञसहितको टोली सोमबार गढी पुगेको हो।

टोलीले ढुंगे स्तम्भमा रहेको अभिलेख, त्यसको संरचना र लेखोटको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ। स्तम्भमा उल्लेखित अक्षर तथा विवरणका आधारमा यसको निर्माण, स्थापना र त्यससँग सम्बन्धित ऐतिहासिक घटनाक्रमबारे तथ्य पहिल्याउन सकिने टोलीको भनाइ रहेको छ।

बयलकाँडा गढीको खम्बागाडे क्षेत्रमा रहेको उक्त ढुंगे स्तम्भमा ‘साके १७१२’ उल्लेख भएको र त्यसमा कालु पाँडे, सरदार सत्रुघन शाही तथा दैलेख विजयसँग सम्बन्धित लेखोट रहेको विभिन्न प्रकाशित ऐतिहासिक अध्ययनमा उल्लेख छ। साके १७१२ लाई इस्वी संवत् १७९० आसपास मानिन्छ।

स्तम्भमा उल्लेखित लेखोट कुन भाषाको हो र कुन घटनासँग सम्बन्धित हो भन्ने विषय पहिल्याएर त्यसको ऐतिहासिक सन्दर्भ अध्ययन पश्चात स्पष्ट हुने वडा अध्यक्ष देवबहादुर रोकायले बताए ।

अध्यक्ष रोकायले लामो समयदेखि जीर्ण अवस्थामा रहेको स्तम्भको अध्ययन सुरु हुनु महत्वपूर्ण भएको भन्दै अध्ययनबाट यससँग जोडिएका ऐतिहासिक तथ्य बाहिरहे आउने अपेक्षा गरे। उनले ऐतिहासिक सम्पदा कुनै व्यक्ति वा निकायको नभई सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षण, अध्ययन र प्रचारप्रसारमा स्थानीय बासिन्दा, तीनै तहका सरकार, अनुसन्धानकर्ता र सम्बन्धित निकायबीच सहकार्यको आवश्यकता औंल्याए ।

प्रकाशित मिति : २०८३ असोज १९ गते सोमबार
अरु पनि पढ्नुहोस्