२०८३ भदौ १० , बुधबार

नीति र व्यवहारबीचको दूरीले अपाङ्गता भएका युवाको समावेशी सहभागिता चुनौतीपूर्ण



सुर्खेत — अपाङ्गता भएका व्यक्तिको अधिकार र समावेशी विकासका लागि नीति तथा कार्यक्रम बने पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा उनीहरूको अर्थपूर्ण सहभागिता अझै चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका छन्।

नेत्रहीन युवा सङ्घ नेपाल, शाखा सुर्खेतले आयोजना गरेको ‘समावेशी युवा नेतृत्व र अर्थपूर्ण सहभागिता : अवसर, चुनौती र सम्भावना’ विषयक प्यानल डिस्कसनमा सहभागी अपाङ्गता भएका युवाले अवसर र सहभागिताको सुनिश्चिततासँगै नीति र व्यवहारबीचको दूरी कम गर्नुपर्नेमा जोड दिएका हुन्।

छलफलमा अपाङ्गता भएका व्यक्तिका लागि शिक्षा प्राप्त गर्ने अवसर भए पनि अपाङ्गताअनुकूल सिकाइ वातावरण, सीप विकासका पर्याप्त कार्यक्रम, सहयोगी प्रविधिमा पहुँच तथा रोजगारीमा समान अवसरको अभाव रहेको बताइएको थियो। यी कारणले शिक्षा प्राप्त गरेपछि पनि आत्मनिर्भरता र रोजगारीमा जोडिन चुनौती हुने सहभागीको भनाइ थियो।

कार्यक्रममा दृष्टिसम्बन्धी समस्या भएका बालबालिकाको सीप विकासका लागि कम्प्युटर शिक्षा कार्यक्रम सञ्चालन गर्न वीरेन्द्रनगर नगरपालिकासँग आग्रह गरिएको थियो। कम्प्युटर शिक्षा अहिले सामान्य सीपमा मात्र सीमित नभई शिक्षा, सूचना, रोजगारी र आत्मनिर्भरतासँग जोडिएको महत्वपूर्ण माध्यम भएकाले दृष्टिसम्बन्धी समस्या भएका बालबालिकाका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न नगरपालिकालाई आग्रह गरिएको हो।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रप्रसाद शर्माले वीरेन्द्रनगर नगरपालिकाले सांकेतिक भाषामार्फत कक्षा १० सम्मको शिक्षा निःशुल्क उपलब्ध गराउनुका साथै अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको बताए।

उनले शिक्षा र स्वास्थ्यमा पहुँच बढाउने उद्देश्यले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। यद्यपि सहभागीले शिक्षा र स्वास्थ्यमा पहुँच मात्र पर्याप्त नभई शिक्षाको गुणस्तर, आवश्यक सहयोगी प्रविधि, सीप विकास र रोजगारीसम्म पुग्ने अवसरलाई समेत एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

कर्णाली प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सहयोगी सामग्री उपलब्ध गराउनुका साथै अपाङ्गतासम्बन्धी नीति निर्माण गरी सोहीअनुसार कार्यक्रम सञ्चालन गरिरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

छलफलमा विशेषगरी समान सहभागिता, नेतृत्व विकास, अवसरको पहुँच र अपाङ्गता भएका युवाका लागि आवश्यक सहयोगका विषयमा चर्चा गरिएको थियो। ग्रामीण क्षेत्रमा रहेका अपाङ्गता भएका बालबालिका, प्रविधिमा कम पहुँच भएका परिवार तथा निरन्तर सहयोग आवश्यक पर्ने व्यक्तिसम्म लक्षित कार्यक्रमको पहुँच पुर्‍याउनु र त्यसको निरन्तरता कायम गर्नु अझै चुनौतीका रूपमा रहेको सहभागीले बताएका छन्।

वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग तथा सुर्खेत नेत्रहीन सङ्घ र जिल्ला समन्वय समिति सुर्खेतको समन्वयमा आयोजित प्यानल डिस्कसनमा सिबिएमको साझेदारी रहेको थियो। कार्यक्रममा अपाङ्गता भएका युवाको नेतृत्व विकास, अर्थपूर्ण सहभागिता र उनीहरूले भोगिरहेका अवसर तथा चुनौतीका विषयमा छलफल गरिएको थियो।

प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रबार
अरु पनि पढ्नुहोस्