
अहिले प्रि–मनसुनको मौसम छ । यो बेला मानव स्वास्थ्यमा विभिन्न खालका समस्या आउँछन् । बर्खायाम शुरू भएकाले सबैभन्दा धेरै पानीजन्य रोग देखा पर्न सक्छ । यो समयमा पानीका मुहानमा सङ्क्रमण भई झाडापखाला, हैजा, जन्डिस, आउँ लगायतका पानीजन्य रोग देखा पर्न सक्छन् । योसँगै पानीबाट सर्ने टाइफाइड र आन्द्राको रोग पनि देखा पर्न सक्छ । पानी मुहानबाट सङ्कलन गरेर ल्याउँदा नै सङ्क्रमण हुन सक्छ । त्यो सङ्क्रमणबाट जोगाउनका लागि पानीका स्रोतहरू नै बचाउन जरुरी छ ।
पानीका स्रोतलाई सुरक्षित राख्ने, ढलका पाइप र पानीका पाइपलाई छुट्याउने, पानी शुद्धीकरणको प्रक्रिया अपनाउने, फोहोर पानीलाई निकासबाट बाहिर पठाउने जस्ता कार्यमा जोड दिनुपर्छ । पानीजन्य रोग भनेको एक जनालाई भएमा परिवारसँगै समुदायलाई नै हुन सक्छ । मानिसमा हुने ७० प्रतिशत रोग पानीजन्य नै हुने गरेको छ । नेपालका अस्पतालका ७० प्रतिशत शय्या पानीजन्य रोगकै बिरामीले भरिएका हुन्छन् ।
पानीजन्य रोग देखा पर्नुअघि नै जनचेतना जगाउनु जरुरी छ । नागरिक सचेत भएमा पानीजन्य रोग घटाउन सकिन्छ । अहिले धेरैले जारको पानी खाने गरेका छन् । तर जारको पानी पिउनेहरूले त्यो पानी सुनिश्चित गरेर मात्रै पिउने गर्नुपर्छ । देशभरका शहरीक्षेत्रमा पानी प्रयोग गर्नेमध्ये झन्डै ८० प्रतिशतले जारको पानी नै प्रयोग गर्ने गरेका छन् । यो बेला वातावरणमा पाइने परजीवी हुर्किने बेला हो । यो बेला शरीरभित्र र बाहिर वातावरणमा पनि विभिन्न खालका परजीवी हुर्किन थाल्छन् । बजारमा बनाइराखेका खानेकुरामा विभिन्न परजीवी हुर्किन थाल्छन् । यो बेला बजारमा पाइने फलफूलमा प्रयोग भएका विभिन्न रसायनले व्यक्तिको ज्यान पनि जान सक्छ । गर्मी छ भनेर बजारमा पाइने रङ्गीन पेय पदार्थ र फलफूल खाँदा त्यसले स्वास्थ्यमा गम्भीर असर पुग्न सक्छ । दुई हप्ताअघि भारतमा सुईबाट रसायन राखेको तरबुजा खाँदा परिवार नै सखाप भएको थियो । नेपालमा पनि सिजनभन्दा अघि नै आँप भित्रिएको छ र खरबुजा पनि धेरै आएको छ । यहाँ पनि त्यस्तो घटना नहोला भन्न सकिन्न ।
यो समयमा तापक्रमसँगै सापेक्षिक आद्रता पनि बढ्छ । सापेक्षिक आद्रता भनेको हावामा भएको पानीको बाफको मात्रा र त्यही बेलाको तापक्रममा हावाले धारण गर्न सक्ने अधिकतम पानीको बाफको मात्राबीचको अनुपात हो । तापक्रम र सापेक्षिक आद्ररता बढ्दा शरीरको छालामा च्यापच्याप हुन्छ र छालाजन्य रोग निम्तन सक्छ । यस्तो बेला हरेक दिन नुहाउने गर्नुपर्छ र सफा कपडा लगाउने गर्नुपर्छ । विशेषगरी घाममा बसेर काम गर्नुपर्ने किसान वा घाममै काम गर्नुपर्नेहरूले दैनिक काम सकेपछि कपडा फेर्ने गर्नुपर्छ ।
यो मौसममा पसिना पनि जाने, गर्मी पनि धेरै हुन्छ । तर पानी प्रशस्त नपिएमा ‘डिहाइड्रेशन’ वा जलवियोजन हुन सक्छ । पानीको सट्टा यो बेलामा शक्तिवर्द्धक र विभिन्न रङ्गीन पेय पदार्थ खानाले झन् स्वास्थ्यमा समस्या देखिन सक्छ । शरीरमा पानी चाहिने बेला यस्ता पेयले फाइदाभन्दा असर पुग्न सक्छ ।
यो मौसममा पानीजन्य रोगसँगै कीटजन्य रोग पनि देखा पर्न सक्छ । मलेरिया, डेङ्गी, चिकनगुनिया, स्क्रब टाइफस, जापानिज इन्सेफ्लाइटिस लगायतका कीराजन्य रोग पनि देखा पर्छन् । मौसम परिवर्तनले रुघाखोकी जस्ता भाइरल रोग, एलर्जी र फङ्गल इन्फेक्सश जस्ता छालाजन्य रोग पनि देखा पर्न सक्छन् । शारीरिक रोग मात्र नभई मानसिक रोग पनि देखा पर्न सक्छ । गर्मी बढ्ने र पानी परिरहने हुँदा यस्तो मौसममा मन उदास हुने, दिक्क लाग्ने, रक्तचाप बढेर तनाव हुने जस्ता समस्या देखा पर्न सक्छन् ।
विगतमा प्रि–मनसुन र वर्षाको बेला विभिन्न पानीजन्य रोगको प्रकोप आएका थिए । यो मौसममा गम्भीर भएन भने विभिन्न सरुवा रोगले सताउन सक्छ । वीरगञ्जमा गएको वर्ष खानेपानीमा सङ्क्रमण हुँदा हैजा फैलियो । २ वर्षअघि कपिलवस्तुमा हैजा, १२ वर्षअघि विराटनगरमा हेपाटाइटिस फैलियो । जाजरकोटमा पनि झाडापखालाको प्रकोप फैलियो । यस्ता घटना फेरि पनि नदोहोरिएला भन्न सकिन्न ।
बालबालिका पानीमा भिज्ने समस्या
पानी पर्ने–रोकिने क्रम चल्ने यो समयमा बालबालिका पानीमा भिज्न सक्छन् । विद्यालयबाट फर्किँदा होस् या घरमै पनि किन नहोस्, पानीमा भिज्न उनीहरू मन पराउँछन् । उनीहरूको कपडा भिज्दा रुघाखोकी, ज्वरो जस्ता भाइरल सङ्क्रमण हुन्छ । हात, खुट्टा, मुख र छालामा दाद आउन सक्छ । उनीहरूलाई सुतीका कपडा लगाइदिनुपर्छ । बालबालिकाले पानी कम पिउँदा स्वास्थ्य समस्या आउन सक्ने भएकाले विद्यालय र घरपरिवारले उनीहरूलाई विशेष ख्याल गर्नुपर्छ । यो बेला लामखुट्टे लगायतका कीरा–फट्याङ्ग्राले टोक्न सक्छन् । त्यही भएर शरीर पूरै ढाक्ने कपडा लगाउने र सर्प हुने ठाउँमा अझै सावधानी अपनाउनुपर्छ ।
ज्येष्ठ नागरिकको हेरचाह
ज्येष्ठ नागरिक पनि बालबालिका जस्तै हुन्छन् । पानीमा भिज्ने, मौसमअनुसार कपडा नलगाउने, नियमित खाने औषधि खान बिर्सने, जे पायो त्यही खाइदिने, पानी नखाँदा जलवियोजन हुने जस्ता समस्या हुन सक्छन् । दीर्घरोग भएका उनीहरूलाई यो बेला खाना र पानीजन्य रोग थपिन सक्छ । भिज्ने बित्तिकै कपडा फेर्ने, हातखुट्टा चिसो भएरनभएको छाम्ने, कपडा कस्तो लगाएको हेर्ने, खानेकुरा र पानी खाएरनखाएको हेर्ने गर्नुपर्छ । यो बेला उनीहरूलाई झिझो नमानिकन विशेष ख्याल गर्नुपर्छ ।
पर्वतारोहीले ध्यान दिनुपर्ने कुरा
यो समयमा यात्रा गर्ने र घुम्न जानेहरू धेरै हुन्छन् । सबैभन्दा पहिला मौसमबारे जानकारी लिएर जानुपर्छ । जहाँ गए पनि आफूलाई चाहिने सामान लिएर जानुपर्छ । नियमित औषधिसँगै आवश्यक पर्न सक्ने औषधि लिएर जानुपर्छ । यात्रा गर्दा जलवियोजन हुन सक्छ । त्यो बेला जीवनजल लिएर जाने गर्नुपर्छ । हिमाल चढ्दा लेक लाग्ने समस्या धेरै हुन्छ । लेक लाग्दा जीउ दुख्ने, थकाइ लाग्ने, चक्कर लाग्ने, बान्ता हुने, टाउको दुख्ने जस्ता अप्ठ्यारो भएमा केही तल झर्ने र आराम गर्ने गर्नुपर्छ । कतिपयले आफ्नो गन्तव्यमा पुग्ने हतारोमा आराम नगरिकन माथि निरन्तर लाग्दा ज्यानै जाने समस्या हुन सक्छ । सामान्य कुरामा ख्याल नगर्दा सामान्य समस्या नै गम्भीर समस्यामा परिणत हुन्छ ।
पूर्वतयारी र अपनाउनुपर्ने सावधानी
हरेक घरपरिवारले घरमा आएको पिउने पानी सफा र सुरक्षित छ भन्नेमा सुनिश्चित हुनुपर्छ । अरू समयभन्दा यो बेला पानी धेरै पिउने गर्नुपर्छ । झोलिलो खानेकुरा प्रशस्त मात्रामा खाने, गर्मी छ भनेर गुलियो र रङ्गीन पेय पदार्थ नखाने, खाद्य पदार्थ सकेसम्म घरमै बनाएर खाने, बाहिरको खाना सकभर नखाने, खानै परेमा त्यो राम्रै हो भन्ने सुनिश्चित हुनुपर्छ । वातावरण प्रदूषण हुन नदिन फोहोर व्यवस्थापन गर्नुपर्छ । । कीटजन्य रोग बढ्न नदिनका लागि घर–आँगनमा पानी जम्न दिनु हुँदैन । सफा पानी जम्मा गरेको छ भने छोपेर राख्ने वा एक हप्ताभित्रैमा त्यसलाई प्रयोग गरेर पुनर्भरण गर्नुपर्छ । वरपर झार छ भने हटाउने गर्नुपर्छ । बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगीको स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा मौसमअनुसार शरीरलाई स्वस्थ राख्ने उपायहरू अवलम्बन गर्नुपर्छ ।
स्वास्थ्यविद् तथा पारिवारिक रोग विशेषज्ञ डा. सागरकुमार राजभण्डारीसँग सम्झना महर्जनले गरेको कुराकानीमा आधारित
प्रतिक्रिया दिनुहोस्