२०८३ भदौ २६ , शुक्रबार

रसुवा बाढीपहिरो पीडितका लागि भायानेटद्वारा २० लाख सहयोग



काठमाडौं । रसुवामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि भायानेट कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।
भायानेटले विपद्बाट प्रभावित व्यक्ति, परिवार तथा समुदायलाई तत्काल राहत उपलब्ध गराउने र पुनःस्थापनाका लागि सरकारले सञ्चालन गरिरहेका अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।
कम्पनीका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध गराइएको सहयोगबाट रसुवा बाढीपहिरो प्रभावितका लागि सञ्चालन भइरहेका सरकारी राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा योगदान पुग्ने अपेक्षा गरेको छ । भायानेटले विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको भायानेटले जनाएको छ। कम्पनीले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
त्यस्तै, उद्धार, राहत तथा सहयोगका कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक, सरकारी निकाय तथा विभिन्न मानवीय सहायता र राहत कार्यमा संलग्न व्यक्ति तथा संस्थाप्रति कम्पनीले आभार व्यक्त गरेको छ।
भायानेटले प्रभावित समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि भइरहेका राष्ट्रिय प्रयासमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ।
‘संकटको घडीमा नेपालसँगै’ भन्ने प्रतिबद्धतासहित कम्पनीले सहयोग गरेको जनाएको हो।

प्रकाशित मिति : २०८३ भदौ २६ गते शुक्रबार
अरु पनि पढ्नुहोस्