२०८३ भदौ २६ , शुक्रबार

गाउँपालिका कार्यालयमा आगजनी घटना: गाउँपालिकाकै कर्मचारीसहित दुई जना पक्राउ



हुम्ला  । हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा भएको आगलागी घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
२०८३ भदौ ७ गते राति करिब १ बजेको समयमा ताँजाकोट गाउँपालिका ३ टाकुरेस्थित गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी निरीक्षक युवराज ढकालको कमान्डमा अनुसन्धान टोली घटनास्थलमा खटिएको थियाे ।

प्रहरीले घटनास्थलमा पुगेर आगलागीको कारण तथा घटनामा संलग्न व्यक्तिबारे सूक्ष्म अनुसन्धान गर्ने क्रममा ताँजाकोट गाउँपालिकाल ४ गल्लाबाडाका करिब ४७ वर्षीय कृष्णचन्द्र जैसी र सोही गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ४५ वर्षीय धनराज ढकाल प्रारम्भिक अनुसन्धानमा संलग्न देखिएको जनाएको छ। प्रहरीले उनीहरूलाई भदाै २० गते पक्राउ गरेर अनुसन्धान अघि बढाएकाे हाे । जनस्वास्थ्य निरीक्षक छैठौँ पदमा कार्यरत ढकाल केही समय अघि मात्र गाउँपालिकाकाे स्वास्थ्य शाखा प्रमुखका रुपमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई हुम्ला जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
आगलागीको वास्तविक कारण, घटनामा उनीहरूको भूमिका तथा क्षतिको विवरणबारे अनुसन्धानबाट थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ भदौ २३ गते मंगलबार
अरु पनि पढ्नुहोस्