२०८३ भदौ २६ , शुक्रबार

चिनेजानेकै व्यक्तिबाट बालबालिका बेचबिखनको जोखिम उच्च



सुर्खेत । बालबालिका मानव बेचबिखनमा अपरिचित व्यक्ति वा संगठित सञ्जालबाट मात्रै नभई आफ्नै साथीभाइ, परिवारका सदस्य तथा चिनेजानेका र विश्वास गरेका व्यक्तिबाट समेत पर्ने गरेको एक अध्ययनले देखाएको छ। गरिबी, पारिवारिक विघटन, हिंसा, ऋण तथा सामाजिक दबाबका कारण रोजगारी वा बसाइँसराइ गर्ने परिवारका बालबालिका विशेषगरी सीमापार बेचबिखन र जबरजस्ती श्रमको उच्च जोखिममा पर्ने गरेका छन्।  द एशिया फाउन्डेसनले न्यू एरा र शक्ति समूहसँगको सहकार्यमा गरेको तीन वर्षे ‘नेपालमा बालबालिका बेचबिखनसम्बन्धी प्रारम्भिक अध्ययन’ ले बालबालिका बेचबिखनका मार्ग, प्रभावित तथा पीडित बालबालिकाका अनुभव, बेचबिखनका संरचनात्मक कारण र विद्यमान हस्तक्षेपको प्रभावकारिताबारे यस्तो निष्कर्ष निकालेको हो।

अध्ययनका निष्कर्षहरू शुक्रबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो। संयुक्त राज्य अमेरिकाको राज्य विभागअन्तर्गत मानव बेचबिखन अनुगमन तथा नियन्त्रणसम्बन्धी कार्यालयको आर्थिक सहयोगमा गरिएको अध्ययनले जोखिममा रहेका बालबालिकाका लागि प्रभावकारी, सांस्कृतिक रूपमा उपयुक्त र उनीहरूको आवश्यकतामा आधारित हस्तक्षेप निर्माण गर्न आवश्यक प्रमाण संकलन गरेको जनाइएको छ। अध्ययनले गरिबी, पारिवारिक विघटन, हिंसा र शिक्षाको अभावका कारण कतिपय परिवारका बालबालिका कम उमेरमै अनौपचारिक क्षेत्रमा काम गर्न पुग्ने गरेको देखाएको छ। १० वर्षसम्मका बालबालिकासमेत अनौपचारिक क्षेत्रमा काम गर्न थालेका कारण उनीहरू शोषण, दुर्व्यवहार तथा जबरजस्ती श्रमको जोखिममा पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ। अनुसन्धानले मनोरञ्जन क्षेत्र, सीमापार मानव बेचबिखन तथा इँटाभट्टा, गलैँचा, तयारी पोसाक, जरी उत्पादन र घरेलु काममा हुने जबरजस्ती बालश्रमलाई प्रमुख क्षेत्रका रूपमा समेटेको थियो।

बहुचरणीय मिश्रित विधिबाट गरिएको अध्ययनमा गुणात्मक तथा परिमाणात्मक अनुसन्धानमार्फत ६५४ जना बेचबिखनबाट प्रभावित तथा पीडितका अनुभव र सूचनालाई समेटिएको अनुसन्धानकर्ताहरूले बताएका छन्। अध्ययनले बेचबिखन तथा जबरजस्ती श्रमबाट प्रभावित बालबालिकामाथि परेको असर उद्धार र पुनःस्थापनापछि पनि लामो समयसम्म रहने गरेको देखाएको छ। त्यसैले प्रभावित बालबालिकाका लागि उद्धारपछि पनि निरन्तर र दीर्घकालीन सहयोग आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ। त्यस्तै, बेचबिखनबाट प्रभावित तथा पीडितहरूले न्यायमा पहुँच र न्यायिक प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न थप बालमैत्री तथा प्रभावितमैत्री संयन्त्र आवश्यक रहेको बताएका छन्। अनुसन्धानमा सहभागीहरूले विद्यमान न्यायिक प्रक्रियालाई बालबालिकाको अवस्था र आवश्यकताअनुकूल बनाउनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा न्यू एराका अनुसन्धान साझेदार डा. सुभास रिसाल र सचिन श्रेष्ठले अध्ययनका प्रमुख निष्कर्ष प्रस्तुत गरेका थिए। उनीहरूले अध्ययनमा प्रयोग गरिएको मिश्रित अनुसन्धान पद्धति, बालबालिका बेचबिखन तथा जबरजस्ती श्रममा पार्ने कारक, शोषणका क्रममा बालबालिकाले भोगेका अनुभव र पुनःएकीकरणका मार्गबारे जानकारी गराएका थिए । अनुसन्धानकर्ताहरूले नेपालमा बालबालिका बेचबिखन तथा जबरजस्ती बालश्रमसम्बन्धी विद्यमान गुणात्मक र परिमाणात्मक अनुसन्धानमा रहेका ज्ञानका खाडल पूर्ति गर्न अध्ययनले सहयोग गर्ने बताएका छन्। प्रभावित तथा पीडितका अनुभव र सरोकारवालाका दृष्टिकोणमा आधारित सिफारिससमेत अध्ययनले अघि सारेको छ। ती सिफारिस सहभागीमूलक प्रक्रियाबाट तयार पारिनुका साथै राष्ट्रिय तथा प्रादेशिक तहका सरोकारवालासँगको परामर्शबाट प्रमाणीकरण गरिएको जनाइएको छ।

कार्यक्रम सञ्चालन शक्ति समूहका विवेक शर्माले गरेका थिए भने शक्ति समूहका संस्थापक सदस्य चरिमाया तामाङले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराएकी थिइन्। कार्यक्रममा अध्ययनका निष्कर्षमाथि अन्तरक्रियात्मक प्रश्नोत्तरसमेत गरिएको थियो। शक्ति समूहका उपाध्यक्ष सूनिता गहतसाजको अध्यक्षतामा भएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख ऋषि गिरी, जिल्ला समन्वय समिति सदस्य चन्द्रकुमारी धामी, वीरेन्द्रनगर–८ का वडाध्यक्ष टीकाराम शर्मा, सामाजिक विकास मन्त्रालयका उपसचिव सूवर्ण खड्का, कर्णाली प्रदेश प्रहरी कार्यालयका डीएसपी सुगन्धा श्रेष्ठ, सशस्त्र प्रहरीका डीएसपी वीरसिंह धामी, राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव मानबहादुर कार्कीलगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा जिल्ला प्रशासन, उच्च अदालत, जिल्ला प्रहरी, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, श्रम, रोजगार तथा यातायात कार्यालय, स्थानीय तह, मानव अधिकार, कानुन व्यवसायी, पत्रकार, युवा क्लब तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८३ भदौ २६ गते शुक्रबार
अरु पनि पढ्नुहोस्