सुर्खेत । सुशासन प्रवर्द्धन र सामाजिक जवाफदेहितामा क्रियाशील सुशासन प्रवर्द्धनका लागि युवा सुर्खेत (वाईजीजीपी) को नवौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।
साधारणसभामा संस्थाले नौ वर्षको अवधिमा सुशासन, सामाजिक जवाफदेहिता, युवा सशक्तीकरण, स्वास्थ्य, शिक्षा, जलवायु अनुकूलन, विपद् व्यवस्थापन तथा सामाजिक समावेशीकरणका क्षेत्रमा गरेका कामको समीक्षा गरिएको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले सुशासन कुनै एक निकायको प्रयासबाट मात्र सम्भव नहुने बताए। उनले स्थानीय तहमा योजना निर्माणदेखि सेवा प्रवाहसम्म नागरिकको अर्थपूर्ण सहभागिता आवश्यक रहेको भन्दै युवालाई सामाजिक उत्तरदायित्व र विकासको अभियानमा जोड्नुपर्ने बताए। भूमि व्यवस्था कार्यालय सुर्खेतका प्रमुख जनक हमालले सरकारी सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र प्रविधिको प्रयोग बढाउनुपर्ने बताए । नागरिकलाई सहज सेवा दिन सरकारी निकाय र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव नमस्कार शाहले गैरसरकारी संस्थाहरुले सरकारले प्रदान गर्ने सेवालाई सुधारका लागि सहजिकरण र साझेदारीको भूमिका निर्वाह गरिरहेकाे तर सरकारले संघ संस्थाप्रति गर्ने व्यवहार विभेदपूर्ण रहेकाे बताए । सामाजिक न्याय, समावेशीकरण तथा महिला र युवाको नेतृत्व विकासका सवाललाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । सेभ द चिल्ड्रेनका कार्यक्रम व्यवस्थापक किशोर जङ्ग शाहले वाइजीजीपीले कर्णालीमा युवाहरुका सवालमा गरेको अभियान सराह्रनीय रहेकाे बताउँदै आगामी दिनमा पनि सशक्त रुपमा अघि बढ्न सुझाव दिए । प्लान इन्टर नेश्नल नेपालका विनय ज्ञवालीले एउटा पालिकाबाट सुरुवात गरेकाे युवा अभियान कर्णाली हुँदै नेपालका विभिन्न जिल्लामा पुर्याउनु उल्लेखेनीय कार्य भएकाे बताउँदै सामाजिक रुपान्तरणका क्षेत्रमा निरन्तर लाग्न सुझाव दिए । नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुवन बिसीले सार्वजनिक निकायलाई नागरिकप्रति जवाफदेही बनाउन तथ्यमा आधारित सूचना प्रवाह र निरन्तर खबरदारी आवश्यक रहेको बताए। उनले सञ्चार क्षेत्र, नागरिक समाज र युवाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
युवा परिषद् सुर्खेतका पूर्वअध्यक्ष टेकेन्द्र बस्नेतले युवालाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र नभई समाज परिवर्तनका संवाहकका रूपमा विकास गर्नुपर्ने बताए। युवाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई सही ढंगले परिचालन गर्न सके स्थानीय तहमा सुशासन र सामाजिक रूपान्तरण प्रभावकारी हुने उनको भनाइ थियो।
वाईजीजीपीकी अध्यक्ष रिता चन्दले सुशासन प्रवर्द्धन जवाफदेहि साशान तथा युवाहरुको सवालमा पैरवी गर्ने उद्येश्यले स्थापना गरिएकाे संस्थाले नाै बर्षमा आफ्ना उधेश्य प्राप्तिमा अघि बढिरहेकाे बताइन ।
संस्थाका कार्यकारी निर्देशक घनश्याम केसीले स्थापनादेखि हालसम्म कर्णाली र सुदूरपश्चिमका सबै जिल्लासहित २३ जिल्लाका ३३ स्थानीय तहमा १९ वटा कार्यक्रम तथा परियोजना सञ्चालन गरिएको बताए । कोषाध्यक्ष मेलिना विसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत एक बर्षमा विभिन्न परियोजनाका लागि १ करोड १४ लाख ११ हजार ४२६ खर्च भएको जानकारी दिइन ।
सामाजिक परीक्षण सम्पन्न

साधारणसभाका अवसरमा संस्थाले सञ्चालन गरेका कार्यक्रम तथा परियोजनाको सामाजिक परीक्षणसमेत गरिएको थियो। सामाजिक परीक्षणमार्फत कार्यक्रमको प्रगति, उपलब्धि, खर्च तथा लक्षित समुदायमा परेको प्रभावबारे समीक्षा गरिएको हो। नागरिक समाज अगुवा नविन शाहीले समाजिक परीक्षणको सहजिकरण गरेका थिए ।
वाईजीजीपीले सुशासनलाई केन्द्रमा राखेर सार्वजनिक सुनुवाइ, सामुदायिक संवाद, युवा सशक्तीकरण, सामाजिक जवाफदेहिता, स्वास्थ्य, जलवायु अनुकूलन तथा सामाजिक समावेशीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
कार्यक्रम व्यवस्थापक सिजापती सम्मानित
नवौँ वार्षिक साधारणसभाका अवसरमा संस्थाका कार्यक्रम व्यवस्थापक खगेन्द्र सिजापती सम्मानित भएका छन्। संस्थागत विकास, सुशासन प्रवर्द्धन, कार्यक्रम कार्यान्वयन तथा सामाजिक जवाफदेहिताका क्षेत्रमा योगदान पुर्याएको भन्दै उनलाई संस्थाले सम्मान गरेको हो । सिजापतिले विगत तीन दशकदेखि सामाजिक विकास र समुदायिक परिचालनका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था मार्फत काम गरेका छन ।
साधारणसभाले आगामी दिनमा युवाको नेतृत्व र सहभागितालाई थप प्रभावकारी बनाउँदै सुशासन तथा सामाजिक रूपान्तरणको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया दिनुहोस्