
काठमाण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनकाे सचिवालयले जनाएको छ ।
ग्यास अभावबारे संसदीय समितिको बैठकमा मन्त्री यादवले उद्योगीप्रति विवादास्पद अभिव्यक्ति दिएपछि उनको राजीनामा आएको हो। उनले ग्यास अभाव समाधानका लागि उद्योगीलाई ‘पाता कस्नुपर्ने’ बताउँदै नेपालमा सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गरी दुईवटा उद्योग मात्र राख्नुपर्ने धारणा राखेकी थिइन्।
मन्त्रीको अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए। काठमाडौं उपत्यकामा लामो समयदेखि ग्यासको अभाव रहे पनि सरकारले बजारमा सहज आपूर्ति गर्न सकेको छैन। सडक अवरोधलगायतका कारण ग्यास आपूर्तिमा थप समस्या देखिएको अवस्थामा मन्त्रीको अभिव्यक्तिले सरकार र उद्योगीबीचको विवाद थप चर्किएको थियो।
यसैबीच मन्त्री यादवले मन्त्रालयकै कर्मचारीबाट असहयोग भएको भन्दै समितिको बैठकमा असन्तुष्टिसमेत व्यक्त गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्