
परम्परागत रूपमा भजन–कीर्तन र आध्यात्मिक चिन्तनलाई प्रायः अवकाशपछिको जीवन वा वृद्धवृद्धाको समय बिताउने माध्यमका रूपमा मात्रै हेरिन्थ्यो । मन्दिरका सत्तल र पाटी–पौवामा चाउरिएका अनुहारहरू मात्र झुम्मिन्छन् भन्ने सामाजिक मान्यता बिस्तारै बदलिन थालेको छ । पछिल्लो समय काठमाण्डौका मठ–मन्दिर मात्र होइन, सामाजिक सञ्जालदेखि आध्यात्मिक शिविरहरूसम्म युवाहरूको उपस्थिति लोभलाग्दो देखिन थालेको छ । आखिर किन आधुनिक प्रविधिको युगमा हुर्किएको पुस्ता बिस्तारै आध्यात्मिकतातर्फ आकर्षित भइरहेको छ रु यो प्रश्न अहिले समाजशास्त्री र मनोवैज्ञानिकहरूका लागि एउटा चाखलाग्दो अध्ययनको विषय बनेको छ ।
पछिल्लो समय युवाहरूमा ‘पार्टी, डिस्को, क्लब र नाइट लाइफ’ प्रतिको मोह घटेको त छैन तर त्यसको विकल्पमा ‘आध्यात्मिक मनोरञ्जन’ तीव्र रूपमा अगाडि आएको छ । धेरै युवाहरूले हिजोआज शुक्रवारको रात क्लबमा बिताउनुको साटो शनिवार देशभरिका ‘एमआरआर’ को भजनमा बिताउन थालेका छन् ।
आजको युवा पुस्ता यस्तो समयमा बाँचिरहेको छ जहाँ प्रतिस्पर्धाको कुनै सीमा छैन । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को तथ्याङ्कले अहिलेको पुस्ता सबैभन्दा धेरै चिन्ता र डिप्रेसनको जोखिममा रहेको देखाउँछ । सामाजिक सञ्जालमा देखिने अरूको राम्रो जीवन र आफ्नो यथार्थबीचको खाडलले युवाहरूमा चरम निराशा पैदा गरिरहेको छ । असीमित महत्त्वाकाङ्क्षा र त्यो पूरा नहुँदा आउने छटपटीले गर्दा उनीहरूमा मानसिक शान्तिको कमी छ ।
प्राविधिक विकासले मानिसको संसारसँगको सम्बन्ध त व्यापक बनायो तर मानिसको भावनात्मक सम्बन्ध साँघुरिँदै गएको छ । महत्त्वाकाङ्क्षा र प्रतिस्पर्धामा अब्बल हुन नसक्दा आउने निराशाबाट मुक्ति पाउन युवा पुस्ताले अध्यात्म र भजनलाई एउटा ‘थेरापी ’का रूपमा स्वीकार गर्न थालेका छन् । भजनमा हुने सामूहिक लय र स्वरले मानिसलाई वर्तमान क्षणमा बाँच्न सिकाउँछ जसले विगतको पश्चात्ताप र भविष्यको डरबाट केही समय भए पनि मुक्ति दिन्छ ।
हामी इन्टरनेटका माध्यमबाट हजारौँ मानिससँग जोडिएका छौँ तर यो एकआपसको सम्बन्ध भर्चुअल मात्र हो । भर्चुअल दुनियाँमा हजारौँ साथी भएका युवाहरू वास्तवमा भित्रभित्रै एक्लो महसुस गरिरहेका भेटिन्छन् । यस्तोमा भजन, कीर्तन वा अन्य आध्यात्मिक समूहहरूले उनीहरूलाई एउटा भौतिक समुदाय प्रदान गर्छन् ।
भजन गर्दा मानिसहरू भौतिक रूपमै सँगै हुन्छन्, एकअर्काको आँखामा हेर्छन् र सामूहिक ऊर्जाको आदानप्रदान गर्छन् । यसले मानिसको सामाजिक व्यवहारमा सुधार ल्याउँछ र एक्लोपनको अन्त्य गर्न मद्दत गर्दछ । यो सामाजिक ऐक्यबद्धताले उनीहरूलाई तानाबाट मुक्ति दिने मात्र होइन, एउटा सकारात्मक ऊर्जासमेत प्रदान गरिरहेको हुन्छ ।
आजको पुस्ता शिक्षित छ, त्यसैले उनीहरू धर्मलाई अन्धविश्वासका रूपमा मात्र स्वीकार गर्दैनन् । उनीहरू अध्यात्ममा विज्ञान खोजिरहेका छन् । धेरै युवा आईटी विद्यार्थी वा विज्ञानका अनुसन्धानकर्ताहरूले मन्त्रलाई ध्वनि विज्ञानका रूपमा व्याख्या गर्न थालेका छन् ।
भौतिक विज्ञानमा हामीले पढ्ने ‘फ्रिक्वेन्सी’ र ‘भाइब्रेसन’ लाई अध्यात्मले मन्त्रका रूपमा धेरै पहिले नै व्याख्या गरिसकेको छ । ब्रह्माण्डको मूल ऊर्जा वा ‘कस्मिक इनर्जी’ को स्रोतका रूपमा सूर्यलाई मान्ने वैज्ञानिक तथ्य र हाम्रो आध्यात्मिक दर्शनले सूर्यलाई साध्य केन्द्रमा राख्नुबीचको तादम्यताले युवाहरूलाई मन्त्रोच्चारण र ध्यानप्रति प्रेरित गरेको पाइन्छ । जति बेला युवाहरू पदार्थबाट ऊर्जातर्फको रूपान्तरण बुझ्दै जान्छन्, तब उनीहरू अध्यात्मको अझ नजिक पुग्छन् ।
भजन गाउँदा वा ध्यान गर्दा शरीरमा हुने रासायनिक परिवर्तन पनि युवा आकर्षणको एक प्रमुख कारण हो । विज्ञानका अनुसार जब मानिस भजन वा सामूहिक उत्सवमा रमाउँछ, उसको मस्तिष्कले ‘डोपामाइन’, ‘सेरोटोनिन’ र ‘अक्सिटोसिन’ जस्ता ‘ह्याप्पी हर्मोन’ रिलिज गर्छ । तनावपूर्ण अवस्थामा उत्पादन हुने ‘एड्रिनालिन’ र ‘कोर्टिसोल’ लाई खुशी दिने रसायनहरूले प्रतिस्थापन गर्छन् जसले गर्दा तत्काल शान्ति र आनन्दको महसुस हुन्छ ।
यही रासायनिक सन्तुलनले गर्दा धेरै युवाहरूले भजनलाई आफ्नो जीवनशैली बनाएका छन् । उनीहरूलाई लाग्छ कि क्लब वा पार्टीको क्षणिक रमाइलोभन्दा भजनको सामूहिक ऊर्जाले दिने खुशी धेरै गुणा दिगो र प्रभावकारी छ ।
यो ट्रेन्डले गर्दा अध्यात्म केवल वृद्धवृद्धाको विषय हो भन्ने भ्रम चिरिएको छ । युवाहरूका लागि अहिलेको समयमा आधुनिक बन्ने माध्यम पनि भएको छ । निधारमा तिलक लगाउनु, गलामा रुद्राक्ष भिर्नु वा भजनमा नाच्नु अब लज्जाको विषय नभई गौरवको विषय बन्न थालेको छ ।
पशुपतिनाथको सन्ध्या आरती होस् वा सामाजिक सञ्जालदेखि देशका कुनाकाप्चामा हुने सत्सङ्ग र भजन कीर्तनसम्म पुग्दा एउटा नयाँ प्रवृत्ति प्रस्ट देखिन्छ— दैनिकको दौडमा थाकेका युवाहरू बिस्तारै अध्यात्म र भजनतिर आकर्षित भइरहेका छन् ।
अध्यात्ममा युवाको बढ्दो मोह केवल एउटा भेल वा लहड मात्र होइन, यो आधुनिक जीवनको तनावले ग्रस्त मनको एउटा स्वाभाविक प्रतिक्रिया पनि हो । प्रविधि र प्रगतिको शिखरमा पुगेपछि मानिस फेरि आफ्नो शान्ति खोज्न बाध्य हुन्छ । आजका युवाले प्रविधि र विज्ञानलाई पछ्याउँदै गर्दा अध्यात्मको गहिराइलाई पनि बुझ्न थालेका छन् ।
मनोविज्ञ डा. वासुदेव कार्कीसँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित
प्रतिक्रिया दिनुहोस्