२०८३ वैशाख १५ , मंगलबार

२४ घन्टामा चट्याङ लागेर ५ जनाको मृत्यू



काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा चट्याङ लागेर ५ जनाको मृत्यु भएको छ। आइतबार बिहान १० बजेदेखि सोमबार बिहान १० बजेसम्मको अवधिमा मुलुकका ३८ स्थानमा चट्याङ परेको तथ्यांक छ। वैशाख महिना लागेयता मात्रै चट्याङका कारण ९ जनाले ज्यान गुमाइसकेका छन् भने ४३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेयता चट्याङका ६१ वटा घटना दर्ता
भएका छन्।

हाल मुलुकका विभिन्न क्षेत्रमा मौसमको दुईवटा स्वरूप देखिएको छ। एकातिर मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ भने अर्कातिर कडा गर्मीको रापले जनजीवन प्रभावित बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्र गर्मीको चपेटामा छन्, जहाँ कतिपय स्थानमा तापक्रम ३८ डिग्री सेल्सियससम्म पुगेको छ। अर्कोतर्फ, बागमती, गण्डकी, मधेस र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा भने निरन्तर वर्षा भइरहेको छ। विभागको तथ्यांकअनुसार हालसम्म सबैभन्दा धेरै गुल्मीको मुसिकोटमा ७८।२ मिलिमिटर वर्षा मापन गरिएको छ।

विभागका मौसमविद् मीनकुमार अर्यालका अनुसार हाल प्रि–मनसुनको प्रकृतिअनुसार नै वर्षा भइरहेको छ। तराईका जिल्लाहरूमा भने तुलनात्मक रूपमा कम वर्षा देखिएको छ। बादल वहने क्रममा पहाडी भेगमा ठोक्किएर सोही क्षेत्र आसपास धेरै वर्षा हुने भएकाले मधेसमा केही कम वर्षा भएको अर्यालले स्पष्ट पारे।

अर्यालका अनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ। वायुमण्डलको तल्लो सतहमा दक्षिण–पूर्वी हावाका रूपमा पूर्वी वायुको समेत सामान्य प्रभाव देखिएको छ। अरब सागरबाट आउने जलवाष्पयुक्त प्रणाली र पूर्वतिरबाट आएका प्रणालीमा स्थानीय प्रणाली मिसिएका कारण बुटवल, गण्डकी र लुम्बिनीको माथिल्लो पहाडी भेगमा धेरै वर्षा भएको हो।

सोमबार वर्षामा केही कमी आए पनि मंगलबारदेखि पुनः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा हुने विभागले प्रक्षेपण गरेको छ। ‘मेघगर्जनसहितको वर्षा हुँदा चट्याङ पर्ने सम्भावना बढी हुन्छ। स्थानीय वायु सक्रिय हुँदा बादल वायुमण्डलको १५ देखि १८ किलोमिटर उचाइसम्म पुग्छ र विभिन्न प्रणालीहरू जोडिएपछि ‘सीबी क्लाउड’ निर्माण भई चट्याङ पर्छ,’ मौसमविद् अर्यालले भने।

प्रि–मनसुनमा प्रायः यस्तै बादल बन्ने र यसले मेघ गर्जनसहित वर्षा गराउने उनले बताए। हिमाली क्षेत्र भौगोलिक रूपमा टाढा रहेकाले चुरे तथा पहाडी क्षेत्र र दक्षिण फर्किएका डाँडाहरूमा चट्याङका घटना बढी हुने गर्छन्। चट्याङलाई एक विनाशकारी प्राकृतिक प्रकोपका रूपमा लिइन्छ, जसले एकैदिन ५ जनासम्मको ज्यान लिने गरेको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले भनिन्, ‘प्राधिकरणले चट्याङबाट जोगिने उपायबारे विभिन्न सञ्चारमाध्यमबाट सचेतनामूलक सन्देशहरू सम्प्रेषण गर्दै आएको छ। नागरिकलाई थप सचेत गराउन सञ्चारमाध्यमको पनि महत्वपूर्ण भूमिका रहन्छ।’

महतका अनुसार चट्याङका घटनामा प्रभावितलाई विभिन्न निकायमार्फत राहत उपलब्ध गराइन्छ। मुख्य रूपमा संघमार्फत राहत वितरण हुँदै आएको छ। एउटा परिवारमा एक व्यक्तिको मृत्यु भएमा २ लाख र सोही परिवारमा अर्को व्यक्तिको पनि मृत्यु भएमा थप १ लाख रुपैयाँ प्रदान गरिने व्यवस्था छ। त्यसैगरी, पुनर्वासका लागि हिमाली क्षेत्रमा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ राहत दिने प्रावधान छ।

प्रकाशित मिति : २०८३ वैशाख १५ गते मंगलबार
अरु पनि पढ्नुहोस्