
काठमाण्डौ : आज विश्व रक्तदाता दिवस, ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे जनचेतना बढाउने, साथै स्वैच्छिक तथा निःशुल्क रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ ।
विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्युएचओ०का अनुसार पछिल्लो दशकमा सुरक्षित रगत आपूर्तिमा उल्लेखनीय सुधार भए पनि विश्वभर यसको पहुँचमा अझै ठूलो असमानता कायम छ । १३२ देशबाट सङ्कलित तथ्याङ्कअनुसार सन् २०१३ देखि २०२३ सम्म विश्वव्यापी रक्त सङ्कलन झण्डै १९ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ मा अनुमानित १२ करोड रक्तदानमध्ये ८५ प्रतिशतभन्दा बढी योगदान स्वैच्छिक तथा निःशुल्क रक्तदाताबाट प्राप्त भएको थियो । तर, सुरक्षित रगतको उपलब्धता सबै क्षेत्रमा समान छैन ।
विशेष गरी कम आय भएका देशहरूमा प्रसूतिको समयमा अत्यधिक रक्तस्राव हुने महिला, गम्भीर रक्तअल्पताबाट पीडित बालबालिका, दुर्घटना तथा आगलागीका घाइते, शल्यक्रिया गराइरहेका बिरामी तथा थालासेमिया, हेमोफिलिया, रोग प्रतिरोधात्मक कमजोरी र क्यान्सरजस्ता रोगबाट प्रभावित बिरामीहरूले आवश्यक समयमा रगत नपाउने समस्या अझै गम्भीर रूपमा देखिएको छ ।
डब्ल्युएचओका अनुसार विश्व जनसङ्ख्याको झण्डै १५ प्रतिशत मात्र रहेका उच्च आय भएका देशहरूले विश्वको कुल रक्तदानको ३६ प्रतिशत हिस्सा सङ्कलन गर्छन् । यसको विपरीत, सीमित स्रोत, कमजोर पूर्वाधार, ढुवानी तथा व्यवस्थापनका चुनौती र रक्तदाताको अभावका कारण कम आय भएका देशहरूमा रगतको आपूर्ति अझै अपुग रहेको छ ।
प्रतिक्रिया दिनुहोस्