
सुर्खेत : कर्णाली प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले हिजो आउँदो आर्थिक वर्षका लागि ३५ अर्ब ३९ करोड ८५ लाख रुपैयाँ बराबरको बजेट पेस गरेका हुन ।
कर्णाली प्रदेश सरकारले बजेटमा महिला स्वास्थ्य स्वंयमसेविकाको प्रोत्साहन भत्ता वृद्धि, सुत्केरीको पोषण भत्ता, ग्रामीण क्षेत्रका सामुदायिक स्वास्थ्य केन्द्रको स्तरोन्नति, सुत्केरीको पोषण तथा उद्धारलगायत क्षेत्रमा विशेष प्राथमिकता दिएको मन्त्री शाहले जनाएका छन् ।
इ–हेल्थ, टेलिमेडिसिन विशेषज्ञ सेवा, स्वास्थ्य शिविर, अङ्कोलोजी सेवा, जलन उपचार सेवालगायत कार्यक्रमलाई निरन्तरता दिन चार करोड ३९ लाख विनियोजन गरेको र आकस्मिक स्वास्थ्योपचार कोषको स्थापना तथा सञ्चालनलाई निरन्तरता दिइने मन्त्री शाहको भनाई रहेको छ ।
मातृ, बाल, शिशु तथा नवजात शिशु मृत्युदरलाई न्यूनीकरण गर्न विभिन्न सचेतनामूलक कार्यक्रम, सामाजिक व्यवहार परिवर्तन, पोषण तथा उपचार सेवालाई प्रभावकारी बनाइने मन्त्री शाहले बताए ।
हिजो सबै प्रदेश सरकारले बजेट पेस गरेका छन् । कर्णालीसहित कोशी, गण्डकी र सुदूरपश्चिमले बजेटको आकार बढाएका छन् भने बागमती, मधेश र लुम्बिनीले घटाएका छन् । प्रदेश सरकारको बजेटमा स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, सूचना प्रविधि र नवप्रवर्तनका कार्यक्रम प्राथमिकतामा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्