
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहको जवाफबिनै सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। विपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको हो ।
बुधबार विपक्षी सांसदहरूले प्रधानमन्त्रीले संसद् छलेको भन्दै छलफल अघि बढाउन दिएका थिएनन्। तर, बिहीबार पनि प्रधानमन्त्री उपस्थित नभएपछि नीति तथा कार्यक्रमका विषयमा अर्थमन्त्री वाग्लेले उत्तर दिएका थिए । अर्थमन्त्रीले प्रधानमन्त्रीका तर्फबाट जवाफ दिन थालेपछि विपक्षी दलहरू एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाले बैठक बहिष्कार गरेका थिए।
कांग्रेस भने विपक्षमा मत जाहेर गरेर बैठक अवधिभर संसद्मा नै बस्यो । अर्थमन्त्री रोस्टममा पुग्दासम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, एमाले र नेकपाका सांसदहरूले भने बैठकमा उपस्थित भएरै विरोध जनाएका थिए। तर, सभामुख नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूचीमा अघि बढेपछि कांग्रेस बाहेकका विपक्षी दल बाहिरिएका हुन्। ।
सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई जवाफका लागि समय दिएलगत्तै विपक्षीले अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो। त्यसपछि पनि अवरोध जारी रहेपछि सभामुख अर्यालले संसद्को प्रक्रिया अगाडि बढाएका थिए ।
प्रतिनिधिसभा अघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पनि पारित भएको छ । प्रधानमन्त्रीका तर्फबाट उत्तर दिँदै अर्थमन्त्री वाग्लेले दुवै सभामा बोलेका थिए । अर्थमन्त्री वाग्लेले सदनमा सांसदहरूले राखेका चासो र सरोकारका विषयलाई उपलब्ध स्रोत र साधनको सीमाभित्र रही प्राथमिकीकरण गरेर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। अर्थमन्त्रीले नेपालको राजनीतिक इतिहासमा पहिलोपटक सबै दलका चुनावी प्रतिबद्धतालाई सरकारले राष्ट्रिय प्रतिबद्धताका रूपमा ग्रहण गरेको दाबी गरे। नीति तथा कार्यक्रमलाई सबैको साझा दस्तावेज बनाउन सरकार तयार रहेको बताउँदै उनले भने, ‘नीति तथा कार्यक्रममा माननीय सदस्यले राख्नुभएको धारणाको विश्लेषण गर्दा यसलाई सरकारले साझा दस्तावेज महसुस गरेको छ, राष्ट्रिय विकासमा साझा दृष्टिकोणसहित मापनयोग्य लक्ष्य तय गर्न सरकार प्रतिबद्ध छ।’ उनले सरकार गठनको पहिलो दिनदेखि नै सुशासनको आरम्भका रूपमा शासकीय सुधारका १०० कार्यसूची कार्यान्वयन भइरहेको जानकारीसमेत दिए।
प्रतिक्रिया दिनुहोस्