२०८३ कात्तिक ७ , शुक्रबार

आज दशैँको महानवमी, देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो



दशैँ अर्थात् नवरात्र अन्तर्गत आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष असोज शुक्ल नवमीका दिनमा दशैँ घर र कोतलगायत विभिन्न देवीमन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), देवीभागवत एवं देवीस्तोत्र पाठ गरी महानवमी मनाउने गरिन्छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेकाले आज दिनभर नै शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्दछ ।

हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गरिन्छ । यसरी विभिन्न देवस्थल तथा घरघरमा नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ ।

भोलि बुधबार दशैँको मुख्य दिन विजयादशमी मनाइन्छ । टीकाको उत्तम साइत भोलि बिहान १० बजेर २६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार त्यसअघि बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरिनेछ ।

यसअघि हिजो र अस्ति दुई दिन अष्टमी तिथि परेको थियो । असोज शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा अस्ति गरिएकोमा राज्यको तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा गएराति गरिएकाे थियाे।

प्रकाशित मिति : २०८३ कात्तिक ४ गते मंगलबार
अरु पनि पढ्नुहोस्