सुर्खेत । युवाको सीप विकास, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनका लागि सुर्खेत उद्योग वाणिज्य संघ र समाज जागरण केन्द्र (स्याक नेपाल) बीच दुईवर्षे सम्झौता भएको छ ।
किशोरकिशोरी, युवा, नवउद्यमी तथा साना व्यवसायीलाई बजारको मागअनुसार सीप प्रदान गरी रोजगारी र उद्यमशीलताका अवसरसँग जोड्ने उद्देश्यले दुई संस्थाबीच सम्झौता गरिएको हो । सम्झौतामार्फत सीप विकास, व्यवसाय प्रवर्द्धन, रोजगारदाता र युवाबीच समन्वय तथा दिगो आर्थिक विकासका क्षेत्रमा सहकार्य गरिने जनाइएको छ ।
सम्झौता कार्यक्रममा सेभ द चिल्ड्रेनका प्रतिनिधि जिविकाेपार्जन विशेषज्ञ जीवनाथ शर्माले बजारको मागअनुसार युवाको सीप विकास गरी रोजगारीमा आबद्ध गराउने लक्ष्य रहेको बताए । उनले सुर्खेतमा कृत्रिम बौद्धिकता (एआई) मा आधारित व्यवसाय इन्क्युबेसनको अवधारणामार्फत नवउद्यमीलाई प्रोत्साहन गर्ने योजना रहेको जानकारी दिए ।
त्यस्तै, सेभ द चिल्ड्रेनको सुर्खेत फिल्ड कार्यालयका प्रमुख रत्नराज ओझाले युवालाई रोजगारी तथा उद्यमशीलताका अवसरसँग जोड्न यस सहकार्यले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले बालश्रम रोकथाम र बालबालिकामैत्री व्यावसायिक वातावरण निर्माणका लागि निजी क्षेत्रको प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काले बजारको मागअनुसार रोजगारी सिर्जना गर्नुका साथै रोजगारदाता र युवाबीच समन्वय स्थापित गर्न संघले सहजीकरण गर्ने बताए । नयाँ व्यावसायिक सोचलाई सफल उद्यममा रूपान्तरण गर्न आवश्यक मार्गदर्शन, मेन्टरसिप तथा व्यवसाय विकासमा सहयोग गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।
समाज जागरण केन्द्र (स्याक नेपाल) का अध्यक्ष मीना कुमारी तिवारी शर्माले यस सहकार्यले युवालाई रोजगारी र उद्यमशीलतामा आबद्ध गराउँदै उनीहरूको आर्थिक तथा सामाजिक जीवनस्तर सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
सम्झौताअन्तर्गत सञ्चालन हुने गतिविधि, अपेक्षित उपलब्धि तथा दुवै संस्थाबीचको समन्वयलाई प्रभावकारी बनाउँदै कार्यक्रमलाई परिणाममुखी रूपमा कार्यान्वयन गर्ने विषयमा पनि जोड दिइएको छ ।
दुई संस्थाबीचको सहकार्यबाट युवाको सीप विकास, दिगो रोजगारी सिर्जना, नवप्रवर्तनमा आधारित उद्यमशीलता तथा निजी क्षेत्रको प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्