सुर्खेत । व्यवसाय सुरु गर्न आवश्यक ज्ञान, सीप र व्यावसायिक योजना निर्माणमा युवालाई सक्षम बनाउने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरमा पाँचदिने व्यवसाय सुरुवात तथा सुधार तालिम सञ्चालन गरिएको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालद्वारा सञ्चालित अपलिफ्ट (Uplift) परियोजनाको आयोजनामा असोज २५ देखि २९ गतेसम्म तालिम सञ्चालन गरिएको हो । तालिममा वीरेन्द्रनगर नगरपालिकाका वडा नं. ७, ९, १० र १२ का १८ देखि २४ वर्ष उमेर समूहका २४ महिला र ६ पुरुष गरी ३० जना युवा सहभागी भएका थिए ।
तालिममा सहभागीलाई व्यवसाय सुरु गर्नुअघि गर्नुपर्ने तयारी, व्यावसायिक योजना निर्माण, बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने प्रक्रिया, उद्यमी र उपभोक्ताबीचको सम्बन्धलगायत विषयमा जानकारी दिइएको थियो ।
तालिमको समापनका क्रममा आफ्नाे भनाइ राख्दै सहभागी हिमाल खड्काले व्यवसाय सुरु गर्दा आवश्यक पर्ने आधारभूत जानकारी प्राप्त भएको बताए । “व्यवसाय सुरु गर्दा के–के आवश्यक पर्छ र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने प्रक्रिया कस्तो हुन्छ भन्ने बुझ्यौँ,” उनले भने, “व्यवसाय सफल बनाउन उद्यमी र उपभोक्ताबीच राम्रो सम्बन्ध कायम गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेछ भन्ने सिक्यौँ ।”
त्यस्तै, सहभागी भीमसरा शर्माले व्यवसाय सञ्चालन गर्ने निर्णय गर्नुअघि आवश्यक तयारी र योजनाको महत्त्व बुझ्न पाएको बताइन् । “व्यवसाय गर्छु भनेर हचुवाका भरमा मात्रै हुँदैन रहेछ । त्यसका लागि व्यवस्थित व्यावसायिक योजना आवश्यक पर्ने रहेछ,” उनले भनिन्, “अब त्यही योजनाका आधारमा व्यवसाय अघि बढाउनेछौँ ।”
स्याक नेपालका कार्यकारी निर्देशक टीकाराम आचार्यले तालिमले युवालाई उद्यमशीलताको यात्रामा अघि बढ्न मार्गदर्शन गर्ने बताए । “हजारौँ माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ भनेजस्तै व्यवसायी बन्ने यात्रामा यो तालिमले मार्गदर्शन गर्नेछ,” उनले भने, “व्यवसायमा निरन्तरता अनिवार्य हुन्छ । तन, मन दिएर लाग्नुस्, तपाईंहरूको साथमा स्याक नेपाल छ । परियोजना भए पनि नभए पनि सहयोग गर्न संस्था सधैँ तयार छ ।” स्याक नेपालका उपाध्यक्ष गंगा गुरुङले युवाले व्यवसाय सुरु गर्न उपयुक्त उमेरमै कदम चालेको उल्लेख गर्दै लगनशीलताका साथ काम गर्न आग्रह गरिन् । “व्यवसायका लागि सही उमेरमा कदम चाल्नुभएको छ । लगनशील भएर लाग्नुभयो भने सफल हुन सक्नुहुन्छ,” उनले भनिन् ।
परियोजनाका अधिकृत हरिभक्त कोइरालाका अनुसार तालिममा सहभागीमध्ये १४ जनाले व्यवसाय सुरु गर्ने र १६ जनाले विभिन्न सीप सिक्ने योजना बनाएका छन् । व्यवसाय सुरु गर्न इच्छुक युवालाई संस्थाले आर्थिक सहयोग उपलब्ध गराउनेछ भने सीप सिक्न चाहनेका लागि निःशुल्क सीपमूलक तालिमको व्यवस्था गरिनेछ ।
युवालाई लक्षित कार्यक्रमलाई समावेशी बनाउन तालिमअघि सार्वजनिक सूचना जारी गरी सम्बन्धित वडा समितिको संलग्नतामा सहभागी छनोट गरिएको थियो । छनोट प्रक्रियामा महिला, मुस्लिम, दलित तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ । तालिममा सहभागी गराउनुअघि घरमै पुगेर अभिभावकसँग भेटघाट गरी उनीहरूको प्रतिबद्धतासमेत लिइएको थियो ।
तालिमपछि व्यवसाय सुरु गर्ने युवालाई आवश्यक सहयोग उपलब्ध गराउनुका साथै सीप सिकेका युवालाई रोजगारीसँग जोड्ने प्रयाससमेत गरिनेछ । यसका लागि संस्थाले निजी क्षेत्र तथा उद्योग वाणिज्य संघसँग सहकार्य गरेको संस्थाले जनाएको छ ।
प्रकाशित मिति : २०८३ असोज २९ गते बिहीबार


प्रतिक्रिया दिनुहोस्