सुर्खेत ।
देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (SEE) सुरु भएको छ।
यस वर्ष सुर्खेतबाट ९ हजार ७७९ विद्यार्थी परीक्षामा सहभागी भएका छन्। परीक्षा व्यवस्थित र मर्यादित बनाउन जिल्लाभर ३४ परीक्षा केन्द्र तोकिएको छ।
आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको परीक्षामा विद्यार्थीहरूको उपस्थिति उत्साहजनक देखिएको छ।
राष्ट्रिय परीक्षा बोर्ड सुर्खेतका अनुसार SEE परीक्षा आजदेखि सुरु भई चैत २९ गतेसम्म सञ्चालन हुनेछ। निर्धारित तालिकाअनुसार परीक्षा हरेक दिन बिहानको समयमा सञ्चालन हुने छ।
परीक्षालाई निष्पक्ष, व्यवस्थित र सुरक्षित बनाउन आवश्यक सुरक्षा व्यवस्थासहित अनुगमनलाई समेत कडाइ गरिएको शिक्षा विकास निर्देशनालय सुर्खेतले बताएको छ।
प्रकाशित मिति : २०८२ चैत १९ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्