
डोल्पा: कर्णालीको हिमाली जिल्ला डोल्पामा अवैध जडीबुटी बरामद गरिएको छ।
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोटस्थित बगर बजारमा सोमबार बिहान नेपाली सेना र निकुञ्जको संयूक्त गस्ती टोलीले छापा मार्दा ३५ क्विन्टल पदमचाल जडीबुटी फेला परेको हो। उक्त जडीबुटी १ सय १ बोरा रहेको छ भने दुईवटा ट्याक्टरसमेत नियन्त्रणमा लिइएको छ।
नेपाली सेनाको संग्राम शार्दुल गुल्म र शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज को संयुक्त टोलीले छापाहानी पक्राउ गरेका चार जनालाई अनुसन्धानका लागि निकुञ्ज प्रशासनमा बुझाइएको छ।
प्रारम्भिक सूचनाअनुसार संकलित जडीबुटी अनुमति बिना रातारात जिल्ला बाहिर लैजान तयारी भइरहेको थियो। पछिल्लो समय निकुञ्ज क्षेत्रमा जडीबुटी संकलनमा कडाइ गरिएको छ। विशेष गरी जटामसीजस्ता संवेदनशील प्रजातिमा प्रतिबन्ध लागिसकेको छ भने पदमचालको संकलनसमेत अध्ययन र कार्ययोजनापछि मात्र सीमित रूपमा अनुमति दिने नीति लागू गरिएको छ।
बरामद जडीबुटी हाल निकुञ्जकै नियन्त्रणमा राखिएको छ भने पक्राउ परेकाहरूको स्वास्थ्य परीक्षणपछि थप अनुसन्धान अघि बढाइएको छ।
प्रतिक्रिया दिनुहोस्