
सुर्खेत । “१४औँ अन्तर्राष्ट्रिय वन दिवस २०२६” को अवसरमा “वन र अर्थतन्त्र” भन्ने नाराका साथ शनिबार सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ६ स्थित जामुने बजारमा जनचेतनामूलक र्याली सम्पन्न भएको छ ।
हेल्भेटास नेपालको सहयोग तथा सुशासन प्रवर्द्धनका लागि युवा संस्थाको सहजिकरणमा सञ्चालन भइरहेको “हाम्रो सहरी परियोजना” अन्तर्गत सिम्ता गाउँपालिकामा उक्त र्याली आयोजना गरिएको हो । कार्यक्रम इलाका वन कार्यालय सिम्ता सुर्खेतको समन्वय तथा सहकार्यमा सम्पन्न गरिएको थियो ।
कार्यक्रम सिम्ता गाउँपालिका वडा नं. ७ का अध्यक्ष धन बहादुर के.सी.को संयोजकत्वमा सञ्चालन भएको थियो । कार्यक्रममा नागरिक समाज, वन उपभोक्ता समिति, टोल विकास संस्था, व्यवसायी तथा समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमका क्रममा “हरियो वन, नेपालको धन”, “वन जोगाऔँ, भविष्य बचाऔँ”, “हरियो वन, स्वस्थ जीवन”, “वन संरक्षण हाम्रो जिम्मेवारी”, “रुख रोपौँ, वन जोगाऔँ, पृथ्वी बचाऔँ”, “वन छ भने पानी छ, पानी छ भने जीवन छ” तथा “जलवायु संकटको समाधान वन संरक्षण” जस्ता सन्देशहरू प्रवाह गरिएको थियो ।
सहभागीहरूले ब्यानर, प्लेकार्ड तथा सन्देशमूलक नारासहित जामुने बजार परिक्रमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्