
सुर्खेत : कर्णाली प्रदेशका विभिन्न स्थानमा ठूलो पानी र हिउँ पर्ने सम्भावना देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रि–मनसुन सक्रिय भएसँगै मौसम प्रणाली पश्चिमबाट भित्रिँदा यसको पहिलो प्रभाव सुदुरपश्चिम प्रदेश र कर्णालीमा देखिएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोपछि कर्णालीका पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि ठूलो पानी पर्ने र हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना छ। विशेषगरी सुर्खेत, सल्यान र ढोरपाटन आसपासका क्षेत्रमा बढी पानी पर्ने सम्भावना छ, जसका कारण नदीको सतह बढ्न सक्ने र साना पहिरो तथा भू–क्षयको जोखिम रहने बताइएको छ ।
आज रातिदेखि भोलि बिहानसम्म कर्णालीको तल्लो भू–भागमा ४ देखी ५ घण्टासम्म लगातार पानी पर्न सक्ने अनुमान गरिएको छ। यसैगरी दार्चुला, डडेल्धुरा र हुम्लाजस्ता उच्च भू–भागमा पनि मध्यम पानी पर्ने र हल्का हिउँ पर्ने सम्भावना रहेको छ।
कर्णालीसँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा पनि यसको प्रभाव देखिनेछ। दाङ, नेपालगञ्ज लगायत तराई क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना छ भने कपिलवस्तु र रुपन्देही आसपास २ देखि ४ घण्टासम्म ठूलो पानी पर्न सक्ने पूर्वानुमान गरिएको छ।
भोलिसम्म प्रणाली पूर्वतर्फ सर्दै जाने भएकाले कोशी प्रदेशका इलाम, धनकुटा, धरान र झापाका केही क्षेत्रमा पनि ठूलो पानी पर्ने र तीव्र हावाहुरीको जोखिम देखिएको छ। केही स्थानमा हुरीको गति ११९ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने अनुमान छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने तथा विद्युत र सञ्चार सेवा अवरुद्ध हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ। प्रभावित क्षेत्रका बासिन्दालाई अनावश्यक यात्रा नगर्न, हावाहुरी चलेको बेला सुरक्षित स्थानमा बस्न र जोखिमपूर्ण संरचना तथा विद्युत उपकरणबाट टाढा रहन सुझाव दिइएको छ।
हाल कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का पानी पर्न सुरु भइसकेको छ । मौसम महाशाखाले प्रि–मनसुनको समयमा दिउँसोपछि जुनसुकै ठाउँमा पनि हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित पानी पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्