
मुगु : मुगुको रारा क्षेत्रमा घुम्न पुगेकी एक आन्तरिक पर्यटकको मृत्यु भएपछि त्यहाँको स्वास्थ्य पूर्वाधारको अभाव फेरि एकपटक गम्भीर रूपमा उठेको छ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार काठमाडौं महानगरपालिका–धुम्बाराही निवासी अन्दाजी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका क्रममा ज्यान गएको हो। उनी चैत १ गते काठमाडौंबाट नेपालगञ्ज हुँदै साथीहरू शिशिर घिमिरे र विशाल सुवेदीसँग रारा पुगेकी थिइन्।
रारामा दुई दिनको बसाइपछि चैत ५ गते फर्किने क्रममा सल्लेरीस्थित डाँफे होटलमा उनको स्वास्थ्य अवस्था एक्कासी बिग्रिएको थियो। साथमा रहेको सामान्य औषधिले काम नगरेपछि उनलाई जिल्ला अस्पताल मुगु पुर्याइए पनि चैत ६ गते बिहान चिकित्सकले मृत घोषणा गरे।
स्थानीयहरूका अनुसार रारा क्षेत्र उच्च भू–भागमा पर्ने भएकाले अक्सिजनको कमी, चिसो र आकस्मिक स्वास्थ्य समस्याले पर्यटकहरू जोखिममा पर्ने गरेका छन्। तर त्यहाँ आवश्यक अक्सिजन सिलिण्डर, दक्ष स्वास्थ्यकर्मी र आपतकालीन उपचारको पर्याप्त व्यवस्था नहुँदा यस्ता घटनाहरू दोहोरिँदै आएका छन्।
यसअघि पनि यस्तै कारणले केही पर्यटकहरूले ज्यान गुमाइसकेका छन्। पछिल्लो घटनाले भने ‘पर्यटनसँगै सुरक्षा’ भन्ने सवाललाई थप गम्भीर बनाएको छ।
सल्लेरी आसपासका होटल व्यवसायीहरू भन्छन्—पर्यटक भित्र्याउने प्रयास भइरहे पनि आधारभूत स्वास्थ्य सेवा नहुँदा जोखिम बढ्दै गएको छ। उनीहरूले छायाँनाथ रारा नगरपालिका, कर्णाली प्रदेश सरकार र संघीय सरकारसँग रारा क्षेत्रमा तत्काल अक्सिजन, प्राथमिक उपचार केन्द्र र स्वास्थ्यकर्मीको स्थायी व्यवस्था गर्न माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस्