२०८३ असोज ५ , सोमबार

किशोरी आमाको नेतृत्वमा जाजरकोटमा ‘सिफ्ट अभियान’: बालविवाह र प्रजनन स्वास्थ्य जटिलतासम्बन्धी सचेतना



जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१, रावत गाउँमा किशोरी आमाहरूको नेतृत्व र सक्रियतामा स्वास्थ्य तथा बालविवाहविरुद्ध जनचेतनामूलक ‘सिफ्ट अभियान’ सञ्चालन गरिएको छ।
सेभ द चिल्ड्रेनको साझेदारी तथा पहाडी क्षेत्र विकास अभियान (एचआरडीसी) जाजरकोट र सुशासन प्रवर्द्धनका लागि युवा (वाइजीजीपी) को आयोजनामा सिर्जना किशोरी आमा समूहको सक्रियतामा अभियान सञ्चालन गरिएको हो ।
अभियानअन्तर्गत आइतबार किशोरीहरूले स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमसँगै कम उमेरमा विवाह गर्दा हुने जोखिम र सानो उमेरमा आमा हुँदा भोग्नुपर्ने समस्या विषयमा नाटक प्रस्तुत गरेका छन । समूहका प्रतिनिधिहरूले नै प्रस्तुत गरेको नाटकमा उनीहरूले आफ्ना जीवन भोगाइ तथा समुदायमा देखिएका वास्तविक घटनालाई समेत समेटेका थिए ।
नाटकमार्फत सानो उमेरमा विवाह गर्दा तथा बच्चा जन्माउँदा स्वास्थ्यमा विभिन्न जटिलता आउन सक्ने, किशोरी आमाले शारीरिक तथा मानसिक समस्या भोग्नुपर्ने र शिक्षा तथा भविष्यमा समेत असर पर्न सक्ने सन्देश दिइएको थियो ।
त्यस्तै, छोरा वा छोरी जन्मिने विषयमा महिलालाई मात्र दोष दिने सामाजिक मान्यता र अन्धविश्वासविरुद्ध पनि नाटकमार्फत सचेतना फैलाइएको थियो । बच्चाको लिङ्ग निर्धारणमा पुरुषको शुक्रकीटमा रहेको X वा Y क्रोमोसोमको भूमिका हुने भएकाले छोरी जन्माएको भन्दै महिलालाई दोष लगाउनु वैज्ञानिक रूपमा गलत भएको सन्देश नाटकमा प्रस्तुत गरिएको थियो ।
नाटक हेरेपछि सहभागी समुदायका सदस्यहरूले कार्यक्रम सन्देशमूलक रहेको प्रतिक्रिया दिएका छन । उनीहरूले बालविवाह, किशोरावस्थामा गर्भधारण तथा छोरा छोरीप्रतिको विभेदसम्बन्धी आफ्ना केही धारणा परिवर्तन भएको बताए ।
सुशासन प्रवद्र्धनका लागि युवा सुर्खेतका उपाध्यक्ष गोविन्द खत्रीले सानै उमेरमा विवाह गर्दा र बच्चा जन्माउँदा स्वास्थ्यसम्बन्धी जटिलता आउन सक्ने भएकाले यस विषयमा समुदायस्तरमै सचेतना आवश्यक रहेको बताए ।
बालविवाह तथा किशोरावस्थामा हुने गर्भधारणसम्बन्धी बुझाइ र सामाजिक सोच परिवर्तन गर्न स्थानीय सरकार, संघसंस्था र समुदायले हातेमालो गर्दै निरन्तर अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।
एचआरडीसीका कार्यक्रम संयोजक नरेन्द्र चन्दले बालविवाह न्यूनीकरणसँगै प्रजनन स्वास्थ्य र सामाजिक व्यवहार परिवर्तनका लागि जनचेतना जगाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए ।
वाइजीजीपीका कार्यक्रम संयोजक सुवास गिरीले ‘सिफ्ट अभियान’ले किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसँगै मातृ तथा नवजात शिशुको स्वास्थ्यबारे विद्यालय र समुदायस्तरमा चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको बताए ।
उनका अनुसार जाजरकोटसहित कालिकोट र जुम्लामा सञ्चालित किशोरी, मातृ तथा नवजात शिशु परियोजनाअन्तर्गत किशोरावस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तन, यौन तथा प्रजनन स्वास्थ्य र मातृ तथा नवजात शिशुको स्वास्थ्यबारे जनचेतना अभिवृद्धि गर्न सिफ्ट अभियान सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार
अरु पनि पढ्नुहोस्