काठमाडौँ — मौसमविद्हरूले नेपालमा आगामी साता भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ । हाल उत्तर अन्डमन सागर र आसपासको क्षेत्रमा न्यूनचापीय क्षेत्र बनेको र उक्त प्रणाली थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने सम्भावना रहेको महाशाखाको आकलन छ ।
असोज ८ देखि १२ गतेसम्म नेपालमा ठूलो वर्षा गराउने गरी बंगालको खाडीबाट विकसित प्रणालीको प्रभाव बढ्ने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग त्यसको अन्तरक्रिया हुने सम्भावना देखिन्छ । यी प्रणालीबाट नेपालतर्फ पर्याप्त जलवाष्प भित्रिँदा विभिन्न भूभागमा भारी वर्षा हुन सक्ने मौसमविद्हरूको आकलन छ । विशेषगरी दुई प्रणालीबीचको अन्तरक्रिया बलियो भएमा वर्षाको मात्रा अझ बढ्न सक्छ ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार अन्डमन सागर आसपास न्यूनचापीय प्रणाली विकसित हुने क्रममा रहेकाले त्यसको प्रभावले बंगालको खाडीमा मौसमीय गतिविधि बढ्ने र त्यसबाट नेपालतर्फ मनसुनी आद्रता भित्रिने सम्भावना देखिएको छ ।
मौसम विज्ञान विभागले वर्षाको मापनका आधारमा त्यसलाई विभिन्न प्रारूपमा वर्गीकरण गरेको छ । २४ घण्टामा १० मिमिभन्दा कम वर्षा हुँदा हल्का वर्षा, १० देखि ५० मिमिभन्दा कम वर्षा हुँदा मध्यम वर्षा, ५० देखि १०० मिमिभन्दा कम वर्षा हुँदा भारी वर्षा, १०० देखि २०० मिमिभन्दा कम वर्षा हुँदा धेरै भारी वर्षा र २०० मिमिभन्दा बढी वर्षा हुँदा अति भारी वर्षाका रूपमा विभागले व्याख्या गरेको छ । नेपालमा सामान्यतया अक्टोबर २ तिर मनसुन बाहिरिने गर्छ । अहिलेको मौसमी प्रणाली सक्रिय नै रहेकाले सोही मितिको आसपासमा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् अधिकारीले बताए । गत वर्ष भने असोज तेस्रो साता नेपालबाट मनसुन बाहिरिएको थियो । यस वर्ष सरदरभन्दा १० दिन ढिला गरी असार ५ गते मनसुन नेपाल भित्रिएको थियो । केही वर्षयता नेपालमा असोजमा भारी वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्