२०८३ असोज ५ , सोमबार

संविधान दिवसमा सिम्ताको फरक अभ्यास- सिमसार क्षेत्र संरक्षण अभियानको सुरुवात



सुर्खेत । संविधान दिवसको अवसरमा सुर्खेतको सिम्ता गाउँपालिका–३ स्थित महत्वपूर्ण सिमसार क्षेत्र टिमुरेको संरक्षणका लागि वृक्षारोपण गरिएको छ । गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्द, उपाध्यक्ष गोमा शर्मा (रेग्मी), वडा नं. ३ का अध्यक्ष लोकबहादुर शाही र वडा नं. ४ का अध्यक्ष शिवबहादुर घर्ती लगायतको उपस्थितिमा शनिबार वृक्षारोपण गरिएको हो ।
टिमुरे क्षेत्र सिम्ता गाउँपालिका–३, ४ र ५ का विभिन्न बस्तीका लागि पानीका स्रोतका रूपमा महत्वपूर्ण मानिन्छ । पछिल्लो समय जलवायु परिवर्तन लगायतका कारण पानीका मुहान तथा स्रोतहरू सुक्न थालेपछि गाउँपालिकाले टिमुरे सिमसार क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राखेको हो ।
हेल्भेटास नेपाल र सुन्दर नेपाल संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा गाउँपालिकाले सञ्चालन गरिरहेको एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम अन्तर्गत टिमुरे सिमसार क्षेत्र संरक्षणको योजना अघि बढाइएको हो । कार्यक्रमअन्तर्गत सिमसार क्षेत्रको संरक्षणसँगै पानीका मुहान तथा जलाधार क्षेत्रको संरक्षणमा समेत जोड दिइएको गाउँपालिकाले जनाएको छ ।
वृक्षारोपण कार्यक्रममा विभिन्न खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका प्रतिनिधिहरूको समेत सहभागिता थियो । स्थानीय समुदायको सहभागितामा सिमसार तथा मुहान संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले सोही अवसरमा मुहान संरक्षण समिति समेत गठन गरिएको छ । समितिले टिमुरे क्षेत्रका पानीका मुहान संरक्षण, वृक्षारोपण तथा जलाधार क्षेत्रको संरक्षणलगायतका काम गर्ने जनाइएको छ ।
गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दले पछिल्लो समय जलवायु परिवर्तनको प्रभावका कारण पानीका स्रोतहरू घट्दै र सुक्दै गएकाले तिनको संरक्षणका लागि गाउँपालिकाले योजना अघि बढाएको बताए ।
उनले पानीका स्रोत संरक्षणलाई दीर्घकालीन योजनाका रूपमा अघि बढाउन आवश्यक रहेको उल्लेख गर्दै चालु आर्थिक वर्षमा मुहान तथा जलाधार क्षेत्र संरक्षणका लागि बजेटसमेत विनियोजन गरिएको जानकारी दिए ।
अध्यक्ष चन्दले स्थानीय समुदाय, उपभोक्ता समिति र सम्बन्धित संस्थाहरूको सहकार्यमा सिमसार तथा जलाधार क्षेत्र संरक्षण गर्न सके पानीका स्रोतलाई दिगो बनाउन सकिने बताए ।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिबार
अरु पनि पढ्नुहोस्