२०८३ असोज ५ , सोमबार

पञ्चपुरीका १५ युवालाई सीप विकास तालिम




पञ्चपुरी, सुर्खेत । स्थानीयस्तरमै उद्यम सञ्चालन गरी आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले सुर्खेतको पञ्चपुरीमा १५ जना युवा उद्यमीलाई सीप विकास तालिम प्रदान गरिएको छ।
आवाज संस्था सुर्खेत र TDH/MISEREOR/KZE को साझेदारीमा सञ्चालित ‘नेपालको पश्चिम क्षेत्रमा महिला तथा बालबालिका, विशेषगरी किशोरीहरूलाई आफ्ना अधिकार सुनिश्चित गर्न तथा सेवाहरूमा पहुँच प्राप्त गर्न सशक्त बनाउने परियोजना’ अन्तर्गत तालिम सञ्चालन गरिएको हो।
पञ्चपुरी नगरपालिका–५, बाबियाचौरमा शुक्रबारदेखि सुरू भएकाे तालिम असमेज ४ गतेसम्म सञ्चालन हुनेछ । तीनदिने तालिममा बोइलर कुखुरापालन, स्थानीय कुखुरापालन, बाख्रापालन तथा बेमौसमी तरकारी खेतीसम्बन्धी व्यावहारिक सीप प्रदान गरिनेछ।
आवाज संस्थाले पञ्चपुरी नगरपालिकाका वडा नम्बर १ देखि ११ सम्म गठन भएका युवा तथा महिला समूहसँग छलफल गरी आर्थिक तथा सामाजिक रूपमा समस्यामा रहेका परिवारको पहिचान गरेको थियो। सोही क्रममा आर्थिक रूपमा विपन्न, दलित तथा एकल महिलाका परिवारको अवस्थासमेत अध्ययन गरी वडा जनप्रतिनिधिको रोहवरमा १५ जना युवा उद्यमी छनोट गरिएको संस्थाले जनाएको छ।
तालिमपछि प्रत्येक उद्यमीलाई व्यवसाय सञ्चालनका लागि आवाज संस्थाले २० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने जनाएको छ। त्यसमा सहभागी उद्यमीले समेत ५० प्रतिशत स्वलगानी गर्ने प्रतिबद्धता जनाएका छन्।
तालिम समापन कार्यक्रममा पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालवीर भण्डारीले आयआर्जनमूलक कार्यक्रमले परिवारको आर्थिक अवस्था सुधारसँगै सामाजिक तथा पारिवारिक जीवनमा समेत सकारात्मक परिवर्तन ल्याउन सक्ने बताए।
उहाँले स्थानीय आवश्यकता र स्रोतसाधनमा आधारित यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै आगामी दिनमा यस्ता कार्यक्रम सञ्चालनका लागि नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
तालिममा सहभागी युवा उद्यमीहरूले प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्दै व्यवसायलाई व्यवस्थित र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । संस्थाबाट प्राप्त हुने सहयोग र आफ्नो स्वलगानीलाई प्रभावकारी रूपमा परिचालन गरी कुखुरापालन, बाख्रापालन तथा बेमौसमी तरकारी खेतीलाई व्यवसायका रूपमा अघि बढाउने उनीहरूको भनाइ छ।
उद्यमबाट आफ्नै परिवारको आय वृद्धि गर्नुका साथै भविष्यमा गाउँका अन्य युवालाई समेत स्वरोजगार र उद्यमशीलतातर्फ आकर्षित गर्ने सहभागीहरूको अपेक्षा छ।
कार्यक्रममा पञ्चपुरी नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख, उद्योग शाखाका प्रतिनिधि, सम्बन्धित वडाका अध्यक्षलगायत विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।
आवाज संस्थाका सामाजिक परिचालक तेजबहादुर रोकायका अनुसार तालिममा सहभागीलाई स्थानीय स्रोतसाधनमा आधारित उद्यम सञ्चालनका लागि आवश्यक व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको छ। आर्थिक रूपमा विपन्न तथा समस्यामा रहेका परिवारलाई आयआर्जनका गतिविधिमा जोड्दै दिगो जीविकोपार्जनको अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

प्रकाशित मिति : २०८३ असोज २ गते शुक्रबार
अरु पनि पढ्नुहोस्