२०८३ असोज ५ , सोमबार

धनन्जय बहुउद्देश्यीय सहकारीमा देवेन्द्र शर्माको अध्यक्षतामा नयाँ समिति चयन



सुर्खेत । धनन्जय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर, सुर्खेतको अध्यक्षमा देवेन्द्र शर्मा रिजाल निर्विरोध निर्वाचित भएका छन् । संस्थाको २०औँ वार्षिक तथा चुनावी साधारणसभाले रिजालको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र दयाराम पंगालीको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको हो ।
नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा डिला धमाला, सचिवमा यामप्रसाद शर्मा रिजाल र कोषाध्यक्षमा नवराज ढुंगाना छन् । त्यस्तै सदस्यहरूमा चन्द्रा भण्डारी, ऋषिप्रसाद रिजाल, भुपेन्द्र शर्मा, टंक रिजाल, नीता रिजाल, देवी शर्मा आचार्य र यामलाल पंगाली निर्वाचित भएका छन्।
त्यसैगरी लेखा सुपरीवेक्षण समितिको सदस्यमा भवानीप्रसाद पौडेल र यामुना चालिसे निर्वाचित भएका छन् ।
संस्थाको २०औँ वार्षिक साधारणसभा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालको प्रमुख आतिथ्य तथा जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष प्रकाशकुमार तिमिल्सेना, धनन्जय सेवा समाज नेपालका अध्यक्ष कृष्णप्रसाद पंगेनी, जिल्ला बहुउद्देश्यीय सहकारी संघका प्रमुख प्रतिनिधि यामप्रकाश थापा, जनहितकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज कंडेल, राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चन्द्रप्रकाश कंडेल र आलोपालो बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार जगतबहादुर बिसीलगायतको उपस्थितिमा सम्पन्न भएको हो।
यसअघि साधारणसभामा संस्थाका तत्कालीन अध्यक्ष भलाराम पंगालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष पंगालीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/८४ का लागि ५ करोड ७१ लाख रुपैयाँ बराबरको बजेटसहित वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
साधारणसभामा संस्थाका विभिन्न विषयगत उपसमितिहरूले समेत आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले नीति, विधि र प्रविधिलाई विशेष प्राथमिकता दिँदै ‘धनन्जयको भविष्य व्यवसायिक र समृद्ध सदस्य’ भन्ने मूल नारालाई आत्मसात् गरेको जनाएको छ। सदस्य तथा संस्थाको दिगो आर्थिक विकास, सुशासन र समुदायप्रतिको चासोलाई प्राथमिकतामा राख्दै पारस्परिक सहयोग, समानता र साझा समृद्धिमार्फत आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नतिका लागि निरन्तर क्रियाशील संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिएको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिबार
अरु पनि पढ्नुहोस्