सुर्खेत — नेत्रहीन युवा संघ नेपाल, शाखा सुर्खेतले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा शिखर माध्यमिक विद्यालय प्रथम भएको छ।
६२औँ राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा आइतबार वीरेन्द्रनगरमा आयोजित ‘विद्यार्थी जीवनमा अनुशासनको महत्व’ विषयक प्रतियोगितामा उक्त विद्यालयका छात्र प्रकाश सञ्ज्याल प्रथम भएका हुन्।
प्रतियोगितामा शिखर माविकै नवीन प्रसाद शर्मा द्वितीय भएका छन्। यस्तै, बागेश्वरी माध्यमिक विद्यालय, सिम्ता–६ राकमकी रूपसरा विक तृतीय भइन् भने सोही विद्यालयका मनोजबहादुर रावलले सान्त्वना पुरस्कार प्राप्त गरे।
चार विद्यालयका २१ जना अपाङ्गता भएका विद्यार्थीबीच भएको प्रतियोगितामा प्रथमलाई २ हजार, द्वितीयलाई १ हजार ५ सय, तृतीयलाई १ हजार र सान्त्वनालाई ५ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ।
प्रतियोगितामा कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्रामबाट ८, शिखर मावि रामघाटबाट ९, बागेश्वरी मावि राकमबाट २ र भेरी बहिरा विद्यालयबाट २ जना गरी २१ जना विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए। सहभागी प्रतियोगीले विद्यार्थी जीवनमा अनुशासनको महत्व, समयको सदुपयोग, अध्ययनप्रतिको जिम्मेवारी तथा असल आचरणका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्