२०८३ साउन ७ , बिहीबार

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै



काठमाण्डौ :  राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ ।

यो आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत् प्राधिकरणले निर्माण गरेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनमा जोडिनेछ । त्यसका लागि १.७ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ । भेरी नदीको पानी ‘डाइभर्सन’ गरी बबईमा झारेर सिँचाइ सुविधा उपलब्ध गराउने र त्यसबाट करिब ४६ दशमलव आठ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रस्तावित प्रसारण लाइनमा नौ वटा टावर रहनेछ । त्यसमध्ये तीन वटा बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र र बाँकी छवटा निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्नेछ । प्रसारण लाइनको क्षेत्राधिकार १८ मिटर रहनेछ । प्रसारण लाइनका कारण सुर्खेतको भेरी गङ्गा नगरपालिका–५ र बर्दिया राष्ट्रिय निकुञ्ज प्रभावित हुनेछ ।

आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पार्न लागेकाले आवश्यक सुझाव दिन आग्रह गरेको छ । भेरी नदीको पानीलाई १२ किलोमिटर लामो सुरुङमार्फत बबई नदीमा खसालेर बाँके र बर्दियाको झण्डै ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

हालसम्म आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ५७ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २०८३ असार २५ गते बिहीबार
अरु पनि पढ्नुहोस्