
सुर्खेत । खानेपानी तथा सरसफाइ योजनाका सरोकारवालाहरूको जवाफदेहिता अभिवृद्धि तथा दिगो सुचारुपनाका लागि लेकवेशी नगरपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। लेकवेशी नगरपालिकाको आयोजना, हेल्भटास नेपालको सहयोग तथा सुन्दर नेपाल संस्थाको सहजीकरणमा आयोजित उक्त कार्यक्रममा नगरपालिकाका वडा नं. ३, ४, ६ र ७ मा सञ्चालित खानेपानी तथा सरसफाइ योजनाहरूको सुचारुपना र प्रभावकारिताका विषयमा सार्वजनिक सुनुवाइ गरिएको हो।
कार्यक्रममा लेकवेशी नगरपालिकाका नगर उपप्रमुख विमला खड्लुक मगरले खानेपानी योजनाहरूलाई दिगो र जवाफदेही बनाउन उपभोक्ताको महत्वपूर्ण भूमिका हुने बताइन । चैतभित्र नगरपालिकालाइ खानेपानी सेवा सुनिश्चित पालिका घाेषणा गर्ने योजना रहेकाे बताउँदै त्यसका लागि सबैकाे सहयोग आवश्यक रहेको उपप्रमुख खड्लुकले बताइन ।
कार्यक्रममा सम्बन्धित वडाका उपभोक्ता समितिका प्रतिनिधिहरू, नगरपालिका, सुन्दर नेपाल संस्था र हेल्भटासका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसरमा सरोकारवालाहरूबीच योजनाहरूको सुधार र दिगो व्यवस्थापनका लागि महत्त्वपूर्ण साझा प्रतिबद्धताहरू समेत व्यक्त गरिएका छन्। वडा स्तरमा सञ्चालित खानेपानी तथा सरसफाइ योजनाहरूको एनवास मा सङ्कलित तथ्याङ्कलाइ अध्यावधिक गरी यथार्थपरक बनाउनका लागि सम्बन्धित वडा अध्यक्ष जिम्मेवार भई योजना निक्यौल गर्ने र लेकवेशी नगरपालिकाले उक्त तथ्याङ्क अद्यावधिकका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने प्रतिबद्धता गरिएको छ । यसैगरी वडा अन्तर्गत हालसम्म दर्ता नभई सञ्चालनमा रहेका खानेपानी तथा सरसफाइ योजनाहरूलाई चालु आर्थिक वर्ष २०८३/२०८४ को चैत्र मसान्तभित्र पालिका स्तरीय जलस्रोत समितिमा अनिवार्य दर्ता गरी सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ।
योजनाहरूको सुशासन र पारदर्शिताका लागि वार्षिक साधारण सभा नगरेका तथा कार्यसमितिको समय अवधि पुगेका खानेपानी तथा सरसफाइ योजनाहरूको चालु आर्थिक वर्षभित्रै अनिवार्य रूपमा वार्षिक साधारण सभा तथा सार्वजनिक लेखा परीक्षण सम्पन्न गरिने भएको छ। त्यस्तै, वडा भित्र छरिएर रहेका साना-साना खानेपानी तथा सरसफाइ योजनाहरूलाई पायक पर्ने नजिकैको ठुलो योजनामा समावेश गरी एकीकृत अवधारणा अनुरूप सञ्चालन गर्न उन्मुख गराइने भएको छ। खानेपानी तथा सरसफाइ योजनामा दिगोपना तथा सुचारुपनाका सूचकहरू पूरा गर्ने रणनीति अवलम्बन गर्दै यसका लागि खानेपानी तथा सरसफाइ समिति, उपभोक्ता समिति र आम उपभोक्ता लगायत सम्पूर्ण सरोकारवालाहरूलाई जिम्मेवार बनाउने साझा प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
यसैबीच आजै खानेपानी तथा सरसफाइ योजनाको दिगोपना तथा प्रभावकारी व्यवस्थापनका लागि मर्मत–सम्भार कार्यशाला गोष्ठी समेत सम्पन्न भएको थियो । सुन्दर नेपाल संस्थाका क्षमता विकास संयोजक ओमप्रकाश थापाले एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमअन्तर्गत हालसम्म प्राप्त उपलब्धि, कार्यक्रम सञ्चालनका क्रममा देखिएका चुनौती तथा समाधानका उपाय प्रस्तुत गर्दै खानेपानी तथा सरसफाइ योजनाको सुचारु सञ्चालन र दिगोपनाका लागि तयार गरिएको मर्मत–सम्भार निर्देशिकाबारे जानकारी गराएका थिए।
प्रतिक्रिया दिनुहोस्