
काठमाडौँ : आज बेलुकादेखि भोलिसम्म सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरैजसो भागमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हिउँ पर्ने अनुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मध्यम वर्षा तथा हिमाली भू–भागमा हिउँ पर्न सक्ने सम्भावना रहेको जनाएको छ ।
आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन कायम रहने भए पनि भोलिदेखि तापक्रम घट्ने अनुमान गरिएको छ । साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागमा हावाहुरीको जोखिम समेत रहेको महाशाखाले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आज बेलुकादेखि भोलिसम्म सुदूरपश्चिमदेखि बागमती प्रदेशका धेरै क्षेत्रमा लगातार पानी पर्ने सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्