२०८३ जेठ १२ , मंगलबार

काठमाडौँबाट सुर्खेत आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, ३८ जना घाइते,दुईको अवस्था गम्भीर



कपिलवस्तु : काठमाडौँ बाट सुर्खेत आउँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस आज बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको थियो। घाइतेमध्ये ३५ जनालाई थप उपचारका लागि भैरहवा स्थित विभिन्न अस्पतालमा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुई जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेमा पवित्रा देवकोटा र प्रकाश विक रहेका छन्। त्यस्तै, १९ जनाको अवस्था मध्यम र १७ जनाको अवस्था सामान्य रहेको बताइएको छ। दुर्घटनामा बस चालक डिल्ली प्रसाद दाहाल, सहचालक राजन बुढा सहित अधिकांश यात्रु घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते यात्रुहरू सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, बाँके, झापा, काठमाडौँ, ललितपुर तथा ओखलढुंगा लगायत जिल्लाका रहेका छन्। प्रहरीले १२ जना घाइतेलाई आफ्नै सवारीसाधनमार्फत उद्धार गरेको तथा अन्यलाई एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको जनाएको छ। दुर्घटनापछि सकुशल रहेका यात्रुहरूलाई गन्तव्यतर्फ पठाइएको छ।

बस दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३ जेठ १२ गते मंगलबार
अरु पनि पढ्नुहोस्