
काठमाण्डौ : भारत सरकारको निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि अर्को हप्ता जेठ १८ मा नयाँदिल्ली जाँदै छन् । लामिछाने तीनदिने औपचारिक भ्रमणका लागि आउँदो सोमबार दिल्ली जान लागेका हुन् ।
नेपाल र भारतबीच पछिल्लो समय सीमा विवाद र कूटनीतिक तनाव बढिरहेका बेला लामिछानेको भ्रमण हुन लागेको हो, तर दुवै पक्षले औपचारिक घोषणा गरि सकेका भने छैनन् । नेपाल सरकारले लामिछानेको भ्रमणबारे औपचारिक रूपमा जानकारी नभएको जनाएको छ ।
चुनावबाट झण्डै दुईतिहाइ बहुमत ल्याएको रास्वपाले वालेन्द्र शाह(बालेन) नेतृत्वमा नयाँ सरकार गठन गरेसँगै नेपाल–भारत सम्बन्धबारे चासो र भारत भ्रमणको विषयमा चर्चा हुँदै आएको छ । प्रधानमन्त्री शाहको दिल्ली भ्रमण अहिलेसम्म अनिश्चित छ ।
यसबीचमा लामिछाने नयाँ दिल्ली जान लागेका हुन् । रास्वपा सभापति लामिछानेको भारत भ्रमणबारे भारतीय मिडियाले पनि चासो देखाएका छन् । भ्रमणको क्रममा लामिछानेले भारतीय विदेशमन्त्री एस.जयशंकर, विदेश सचिव विक्रम मिश्रीसहित उच्च अधिकारीसँग भेट गर्ने तयारी छ ।
लामिछानेको भ्रमण भारतीय विदेश सचिव मिस्रीको काठमाण्डौ भ्रमण स्थगित भएको र सीमा विवाद चर्किएको पृष्ठभूमिमा हुन लागेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलले लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री शाहको कुनै सम्बन्ध नरहेको जनाएका छन् ।
हिजोको मन्त्रिपरिषद् बैठकपछि उनले सभापति आफ्नै ढंगले भारत जान लागेको बताएका हुन्।
प्रतिक्रिया दिनुहोस्