२०८३ जेठ १२ , मंगलबार

कर्णालीको गुणस्तरीय सिकाइ सुधारमा झण्डै ८ करोड लगानी, सिकाई र  शिक्षा क्षेत्रको बजेटमा वृद्धि



सुर्खेत । विगत दुई बर्ष यता कर्णाली प्रदेशमा विद्यालय शिक्षा क्षेत्र योजना र गुणस्तरीय सिकाइका साथै शिक्षा क्षेत्रको बजेट विनियोजनमा उल्लेखनीय रुपमा बृद्धि भएको पाइएको छ ।

२४ मे २०२४ देखि २६ मे २०२६ सम्म सञ्चालन भएको “गुणस्तरीय सिकाइका लागि विद्यालय शिक्षा क्षेत्र योजना (इएसपी) तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता सुदृढीकरण कार्यक्रम” अन्तर्गत सिकाई बृद्धि भएको बताइएको छ ।  परियोजना अवधिमा उक्त कार्यक्रममा ७ कराेड ७३ लाख खर्च गरिएको परियोजना व्यवस्थापक तेज सोनामले जानकारी दिए । कार्यक्रमअन्तर्गत सामाजिक विकास मन्त्रालय र परियोजनाको सहकार्यमा प्रदेश सरकारको १० वर्षे शिक्षा क्षेत्र योजना तयार भई राय–सुझावका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गरिएको छ । साथै कार्यक्रम लागू भएका २२ स्थानीय तहले आफ्ना १० वर्षे शिक्षा क्षेत्र योजना तयार, स्वीकृत तथा कार्यान्वयनमा ल्याएका छन् ।

परियोजनापछि शिक्षा क्षेत्रमा स्थानीय तहको लगानीसमेत बढेको पाइएको छ । आर्थिक वर्ष २०८२/०८३ मा शिक्षा क्षेत्रको बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा औसत ३२.६५ प्रतिशतले वृद्धि भएको हो ।

सिकाइ आपुरण तथा द्रुत सिकाइ कार्यक्रमअन्तर्गत सिकाइ उपलब्धिमा सुधार देखिएको परियोजनाले जनाएको छ । कार्यक्रम लागू भएका १०५ विद्यालयमा गरिएको अध्ययनअनुसार प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्मका बालबालिकाको सिकाइ उपलब्धि १०.५७ प्रतिशतले वृद्धि भएको पाइएको छ । कार्यक्रम शुरु पहिले ती विद्यालयको कक्षा १ देखि ५ सम्मको सिकाइ उपलव्धी ६३.३७% थियाे भने कार्यक्रमका सहयाेग पश्चात शैक्षिक वर्षा २०८२ मा सिकाइ उपलव्धि ७३.९४% रहेको छ ।

चरण–१ का तीन स्थानीय तहमा गणितमा ७.८५ प्रतिशत र अंग्रेजीमा ५.३५ प्रतिशत सुधार भएको छ भने चरण–२ का चार स्थानीय तहमा गणितमा ३.२५ प्रतिशत तथा नेपाली विषयमा १५.५५ प्रतिशत सुधार देखिएको छ । यसबाट ८ हजार ६१० विद्यार्थी र ३९८ शिक्षक प्रत्यक्ष लाभान्वित भएको छ ।

समावेशी शिक्षाअन्तर्गत ५ हजार १८६ बालबालिकाको स्क्रिनिङ गर्दा १८८ जना सिकाइ कठिनाइ भएका बालबालिका पहिचान भएकाे परियोजनाले जनाएको छ । ती सबैका लागि व्यक्तिगत शैक्षिक योजना (आईईपी) तयार गरी कार्यान्वयनमा ल्याइएको परियोजनाले जनाएको छ । कार्यक्रम लागू नभएका विद्यालयमा समेत स्थानीय तहको स्रोत व्यवस्थापन र परियोजनाको प्राविधिक सहजीकरणमा शिक्षक क्षमता विकास कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रदेशस्तरीय सिकाइ आदान–प्रदान कार्यशालामा बोल्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको अभावका कारण बसाइँसराइ बढिरहेको बताए । उनले यस्ता परियोजनाले गाउँमै बस्ने वातावरण सिर्जना गर्न सहयोग पुग्ने उल्लेख गर्दै स्थानीय उत्पादन र स्वरोजगारमुखी सीपमा आधारित शिक्षा योजना आवश्यक रहेकोमा जोड दिए । कार्यक्रम लागूभएका स्थानीय तहका प्रमुखहरुले परियोजनाले सुरु गरेका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन । सिम्ता गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्दले परियोजनाले आफ्नो पालिकाको शैक्षिक सुधारमा महत्वपूर्ण सहयोग पुगेको बताउँदै राम्रा कार्यक्रमलाई पालिकाको बजेटबाट निरन्तरता दिने बताए ।

परियाेजनाले आगामी दिनमा आफै कार्यक्रम स‍ंचालन भन्दा पनि स्थानिय सरकारकाे प्रणाली सुदृढीकरण र पालिकाले बनाएका कार्यक्रममा प्राविधिक सहयाेग गर्ने युनिसेफ नेपालका शिक्षा अधिकृत फर्शुराम पन्थले जानकारी बताए ।

कार्यक्रम युराेपियन युनियन, फिनल्याड सरकार र युनिसेफ नेपालकाे सहयाेगमा समाज जागरण केन्द्र स्याक नेपालले सञ्चालन गरेको हो ।

प्रदेशस्तरिय सिकाइ आदान प्रदान कार्यक्रम कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालका सचिव राेशनी कुमारी क्षेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । छायाँनाथ रारा नगरपालिका, खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, नारायण नगरपालिका, सान्नीत्रीवेणी गाउँपालिका, सिम्ता गाउँपालिका र त्रीवेणी गाउँपालिकाको प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षाा शाखा प्रमुख लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८३ जेठ ११ गते सोमबार
अरु पनि पढ्नुहोस्