
सुर्खेत । सेभ द चिल्ड्रेनको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालद्वारा वीरेन्द्रनगरमा सञ्चालन गरिएको “पावर फर एवाई” परियोजनाले पाँच वर्षको अवधिमा युवाको उद्यमशीलता, किशोर–किशोरीमैत्री सेवा तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।
साेमबार आयोजित परियोजनाको समापन बैठकमा सार्वजनिक गरिएको विवरणअनुसार परियोजना मार्फत १२५ जना युवा उद्यमी तयार भएका छन् । तीमध्ये ५६ जनाले सीप विकास तालिम र ६९ जनाले लघु उद्यम सम्बन्धी तालिम प्राप्त गरेका थिए। यस्तै परियोजनाले युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन घुम्तीकोषमार्फत ३८ जनालाई रु. ११ लाख ४० हजार ऋण लगानी गरी व्यवसाय सञ्चालनमा सहयोग गरेको छ। साथै बाल अनुदान कोषमार्फत ३९ जनालाई प्रति व्यक्ति रु. २ हजारका दरले सहयोग गरिएको थियो। हरित रोजगारी व्यवसायमा ७ जना युवालाई संलग्न गराइएको परियोजनाका संयोजक अम्विकला सलामी मगरले जानकारी दिइन ।
परियोजना संयोजक मगरका अनुसार स्वास्थ्य तथा किशोर–किशोरीमैत्री सेवातर्फ परियोजनाले ७ जना स्वास्थ्यकर्मीलाई तालिम र सामग्री सहयोग उपलब्ध गराएको छ। दुई वटा किशोर–किशोरीमैत्री संस्था प्रमाणीकरण गरिएको तथा १ हजार ९४० जना किशोर–किशोरीले सेवा लिएको उनले जानकारी दिइन । समुदायस्तरमा सञ्चालन गरिएको विभिन्न सचेतनामूलक सत्रबाट ६४० जना बालबालिका लाभान्वित भएका छन्।
परियोजनाले आधारभूत पूर्वाधार तथा सामाजिक क्षेत्रमा समेत काम गरेको संयोजक मगरले बताइन । ४० घरधुरीमा शौचालय निर्माण सहयोग, दुई वटा स्वास्थ्य संस्थामा खानेपानी तथा सरसफाइ सुविधा विस्तार तथा १ हजार २०० जनालाई ढिलो विवाहसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ।
शिक्षातर्फ १६१ जना बालबालिकालाई छात्रवृत्ति सहयोग गरिएको छ भने ४०० जना बालबालिका उपचारात्मक कक्षामा सहभागी भएका छन्। विद्यालयस्तरीय अभिभावक शिक्षामा १ हजार १०० जना सहभागी भएका थिए भने विद्यालय तहका विभिन्न सत्रमा ४६० जना बालबालिकाको सहभागिता रहेको परियोजनाले जनाएको छ।
युवाको क्षमता विकासका लागि १० जना युवा उद्यमीलाई बुस्टर तालिम, ७६ जनालाई व्यवसाय सहयोग तथा १२५ जनालाई डिजिटल मिडिया मार्केटिङ्ग सम्बन्धी अभिमुखीकरण गरिएको थियो। परियोजनाले युवा नीति निर्देशिका निर्माण, युवा क्लब तथा अपाङ्गता सञ्जाल गठन र परिचालनमा समेत सहकार्य गरेको जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथि तथा वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकालले परियोजनाले स्थानीय युवालाई उद्यमशीलतामा जोड्दै दिगोपनाको आधार तयार गरेको बताइन्। उनले परियोजनाका सकारात्मक अभ्यासलाई आगामी दिनमा नगरपालिकाका कार्यक्रममार्फत निरन्तरता दिइने उल्लेख गरिन्।
कार्यक्रमका अध्यक्ष तथा परियोजना सल्लाहकार समिति संयोजक एवं उपप्रमुख निलकण्ठ खनालले युवालाई उद्यमशीलतामा प्रेरित गर्न परियोजनाले प्रभावकारी भूमिका खेलेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताए।
स्याक नेपालकी उपाध्यक्ष गंगा गुरुङले पाँच वर्षसम्म स्थानीय सरकारसँग सहकार्य गर्दै परियोजनाले सफलतापूर्वक काम गरेको बताउँदै परियोजनाबाट भएका उपलब्धिहरू स्थानीय सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिइन्।
परियोजनाले विपन्न परिवारका युवाले तालिमपछि व्यवसाय निरन्तरता दिन कठिनाइ भोग्नु, सीमित बजेट तथा डिजिटल पहुँचको अभाव, वैदेशिक रोजगारीका कारण युवाको पलायनलगायत चुनौतीहरू पनि औंल्याएको छ। साथै युवामैत्री नीति, डिजिटल शिक्षा, सीप विकास तथा स्थानीय रोजगारी सिर्जनालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।
प्रतिक्रिया दिनुहोस्