२०८३ जेठ १२ , मंगलबार

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार



काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् । यही जेठ १५ गते हुने गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिन उनले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गरेका हुन् ।

प्रधानमन्त्री बालेनले पठाएको उक्त पत्र राष्ट्रपतिको कार्यालयमा पुगिसकेको सिंहदरबार स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्रीले गणतन्त्र दिवस समारोहमा सम्वोधन गर्ने अभ्यास थियो । यसपटक संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिलाई सम्बोधन गर्न भनी पत्राचार गरिएको छ ।

सधैँ प्रधानमन्त्रीले सम्बोधन गर्ने गरेको गणतन्त्र दिवस समारोहमा पनि नबोल्ने गरी राष्ट्रपतिलाई पत्राचार गरिएको हो । यसअघि, सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद् बैठकमा पनि प्रधानमन्त्री बालेनले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुखसमक्ष पेस गरेका थिए ।

यस्तै, नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गरिएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद् बैठक अवरुद्ध गरेका थिए । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जवाफ दिएका थिए । प्रमुख प्रतिपक्षीको अवरोध र विपक्षी दलहरूको बहिष्कारबीच नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित गरिएको थियो ।

त्यसपछि प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीअनुसार प्रधानमन्त्री हरेक महिना संसद्‌मा प्रश्नोत्तरमा सहभागी हुनुपर्ने प्रावधान देखाउँदै विपक्षीले विरोध जनाएका छन् । उनीहरूले संसद् बैठक सञ्चालनमा अवरोध गरेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्रीलाई भेटेर प्रश्नोत्तरमा सहभागी हुने मिति मागेका थिए । तर, सभामुखलाई प्रधानमन्त्रीले ‘उपयुक्त समयमा संसद्‌मा उपस्थित भएर जवाफ दिने’ बताएर फर्काइदिएका थिए ।

त्यसपछि विपक्षीको अवरोधबीच ‘वैकल्पिक विकास वित्तसम्बन्धी विधेयक, २०८३’ प्रतिनिधिसभाबाट पारित गरिएको थियो । निर्वाचित भएपछि प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गरेका छैनन् । प्रमुख प्रतिपक्षसहित विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरिसक्दा प्रधानमन्त्री बालेन कतै पनि औपचारिक रूपमा बोलेको छैनन् ।

प्रकाशित मिति : २०८३ जेठ ११ गते सोमबार
अरु पनि पढ्नुहोस्