२०८३ जेठ १२ , मंगलबार

पक्राउ पुर्जीविरुद्ध शेरबहादुर देउवाको रिटमा सुनुवाइ जारी



काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी श्रीमती डा.आरजु राणा देउवाको पक्राउ पुर्जीविरुद्ध दायर भएको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भइरहेको हो।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आफू र श्रीमती आरजुलाई पक्राउ पुर्जी जारी भएपछि सर्वोच्चमा रिट दायर गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई रिटमा विपक्षी बनाइएको छ। यसअघि जेठ ५ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले देउवा दम्पत्ती पक्राउ गर्नुको कारणसहित लिखित जवाफ माग गरेको थियो।

गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको उनीहरूमाथि आरोप छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिइसकेको छ।
जेनजी आन्दोलनका क्रममा देउवा र आरजुमाथि कुटपिट भएको थियो। सोही क्रममा बुढानिलकण्ठस्थित घरमा आगजनी हुँदा जलेका नोट भेटिएका थिए। त्यो विषय सार्वजनिक भएको थियो। त्यसपछि सम्पत्ति शुद्धिकरण विभागले देउवा निवार पुगेर मुचुल्का समेत उठाएको थियो। हाल देउवा दम्पत्ती विदेशमा छन्।

प्रकाशित मिति : २०८३ जेठ ११ गते सोमबार
अरु पनि पढ्नुहोस्