२०८३ जेठ १२ , मंगलबार

सअ परियोजनाको सामाजिक परीक्षण सम्पन्न




सुर्खेत ८ जेठ । एड्भोकेसी फोरम नेपालले सञ्चालन गरेको नेपालमा महिला मानव अधिकार रक्षकहरुको संजाल सुदृढीकरण परियोजनो सामाजिक परीक्षण सम्पन्न भएको छ ।
परियोजना सञ्चालित कैलाली कञ्चनपुर र सुर्खेत जिल्लामा सामाजिक परीक्षण गरिएको हो । कैलालीको धनगढीमा जेठ ५ गते कञ्चनपुरको भीमदत्तनगरमा ६ गते र सुर्खेतको वीरेन्द्ननगरमा ८ गते सामाजिक परीक्षण गरिएको थियो । अप्रिल २०२५ देखि सुरु भएको उक्त परियोजना जुन २०२६ सम्म अवधि रहेको उक्त परियोजनाले महिला मानव अधिकार रक्षकहरुको क्षमता अभिबृद्धि गर्ने उद्येश्य राखेको छ । यस्तै स्थानीय सरकारसंगको सहकार्यमा महिलाहरुलाई कानुनी सचेतना, न्याँयमा पहुँच वृद्धि, मानव अधिकार प्रवर्द्धन, विभेद र लैगिंक तथा घरेलु हिंसाको अन्त्य, सामाजिक र न्यायमा सवलिकरण गर्ने पनि परियोजनाको उद्येश्य रहेको छ ।


सामाजिक परीक्षणका क्रममा गरिएको अध्ययन तथा छलफलका क्रममा परियोजना तलिमले महिला मानव अधिकार रक्षकहरुको आधारभूत कानुनी ज्ञान र न्याय प्रक्रियाका बारेमा स्पष्टता बृद्धि भएको, युवा मानव अधिकार रक्षकहरु पनि अभियानमा जोडिएको जिल्लामा मानव अधिकार सम्बन्धी काम गर्ने व्यक्ति, समूह, सञ्जालबीच समन्वय सहकार्यसँगै सामूहिक रुपमा काम गर्ने वातावरण बनेको सहभागीहरुले बताएका छन् ।
यस्तै परियोजनाले तालिम दिएपछि विगतदेखि काम गर्दै आएको भन्दा मानव अधिकार रक्षकको रुपमा आत्मविश्वास बृद्धि भएको छ, डिजिटल साक्षरता सम्बन्धी ज्ञान बृद्धि भएको छ सहभागीहरुको भनाई छ ।
मानव अधिकार रक्षकको अधिकार र संरक्षण सम्बन्धी विधेयकमा छलफल गरी आफ्ना सुझाव पेश गर्न पाएको महिला मानव अधिकार रक्षकहरुले बताएका छन् । मेन्टीहरुमा घटनाको अभिलेख राख्ने, रिपोर्टिंग गर्ने, कानुनी ज्ञानसँगै पीडितहरुको निवेदन लेखिदिने जस्ता ज्ञान सीप बृद्धि भएको छ । सामाजिक परीक्षणमा सहभागी लाभग्राही तथा सरोकारवालाहरुले आगामी दिनमा युवाहरुलाई मानव अधिकार रक्षकको रुपमा काम गर्न प्रेरित गर्नुपर्ने, महिला मानव अधिकार रक्षकहरुलाई क्षमता अभिबृद्धि, मनोसामाजिक परामर्श, तथा पुर्नताजगी तालिम सञ्चालन गर्नुपर्ने, डिजिटल सञ्चार माध्यमबाट सचेतनामूलक कार्यक्रम गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।


सामाजिक परीक्षण कार्यक्रममा सहभागी धनगढी उपमहानगर पालिकाका उपप्रमुख कन्द कला कुमारी रानाले परियोजनाले सुरुवात गरेका कार्यक्रमहरुलाई आगामी दिनमा नगरपालिकाले निरन्तरता दिने बताइन । ‘हाम्रो नगरको नीति कार्यक्रम र बजेट किताबमा समावेश गरिसकेपछि यी कार्यक्रम संस्थाको मात्र नभइ नगरपालिकाको हो’ उपप्रमुख रानाले थपिन,‘परियोजना सकिएपनि नगरपालिकाले आवश्यक कार्यक्रमहरुलाई निरन्तरता दिन्छ ।’
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले महिला मानव अधिकार रक्षकहरुले हिंसा प्रभावित, विपन्न नागरिकको न्यायमा पहुँचका लागि राम्रो भूमिका निर्वाह गरिहेको बताउँदै रक्षकहरुलाई नगरपालिकाले अभिभावकत्व दिने बताए । उनले नगरस्तरीय महिला मानव अधिकार रक्षक सञ्जाल गठन गर्न आग्रह गर्दै सञ्जालका लागि आगामी आर्थिक बर्षका बजेट विनियोजन गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बलमे एड्भोकेसी फोरमले महिला मानव अधिकार रक्षकहरुका लागि गरेको काम सह्राननीय भएको बताउँदै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिन अग्रह गरे । उनले आउदा दिनहरुमा पनि महिला मानव अधिकार रक्षकहरुसँग स्थानीय सरकार हातेमालो गरेर अगाढी बढ्ने बताए ।
राष्ट्रिय मानव अधिकार आयोग सुदुर पश्चिम कार्यालयका प्रमुख मान बहादुर कार्कीले मानव अधिकारको रक्षाका लागि महिला मानव अधिकार रक्षकहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै आगामी आयोगले पनि समन्वय सहकार्य गरेर काम गर्ने बताए ।
एड्भोकेसी नेपालका कोषाध्यक्ष विष्णुकला भण्डाीले सामाजिक परीक्षणका क्रममा महिला मानव अधिकार रक्षक संजाल, सरोकारवाला र स्थानीय सरकारबाट प्राप्त सल्ला सुझावलाई आगामी दिनमा मार्गदर्शनका रुपमा लिने बताइन । आगामी दिनमा युवा मानव अधिकार रक्षकहरुलाई प्रेरित गर्ने खालका कार्यक्रमहरु जोड दिन उनले बताइन ।
कार्यक्रममा नगरपालिका, मानव अधिकार आयोग, मानव अधिकारका क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाका प्रतिनिधि, महिला मानव अधिकार रक्षक सञ्जालका प्रतिनिधिहरु, मेन्टी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८३ जेठ ८ गते शुक्रबार
अरु पनि पढ्नुहोस्