२०८३ जेठ १२ , मंगलबार

राष्ट्रिय शहरी विकास नीति २०८१ सम्बन्धी सिम्तामा अभिमुखीकरण




सुर्खेत ।
सुर्खेतको सिम्ता गाउँपालिकामा राष्ट्रिय शहरी विकास नीति २०८१ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
हेल्भेटासको आर्थिक सहयोग, सुशासन प्रबर्द्धनका लागि युवा वाइजीजीपीको सहजीकरण तथा कार्यान्वयन र सिम्ता गाउँपालिकाको समन्वयमा यही जेठ ६, ७ र ८ गते पालिका सभाहल तथा वडा नं. ५ र ६ मा अभिमूखीकरण सञ्चालन गरिएको हो ।
एकदिने अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय शहरी विकास नीति २०८१ मा समेटिएका व्यवस्थालाई स्थानीय तहमा कसरी समायोजन तथा कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो। साथै शहरी विकाससम्बन्धी प्राविधिक सीप र कार्यान्वयनका पक्षमा समेत अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सिम्ता गाउँ कार्यपालिकाका पदाधिकारी, प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत, पूर्वाधार विकास अधिकृत, विभिन्न शाखाका प्रमुख, वडा तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
वाइजीजीपीका कार्यक्रम व्यवस्थापक खगेन्द्र सिजापतिले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य तथा “हाम्रो शहर” परियोजनाको लक्ष्यबारे जानकारी गराएका थिए।
कार्यक्रमका सहजकर्ता दुर्लभ बोगटीले नेपाल सरकारले स्वीकृत गरेको राष्ट्रिय शहरी विकास नीति २०८१ का प्रावधान, स्थानीय सरकारले कार्यान्वयन गर्न सक्ने नीतिगत व्यवस्था तथा प्राविधिक पक्षबारे प्रस्तुति दिएका थिए । उनले स्थानीय तहले शहरी विकास नीतिलाई व्यवहारिक रूपमा कसरी लागू गर्न सक्छन् भन्ने विषय प्रमुख छलफलको केन्द्र रहेको बताए।
कार्यक्रममा सहभागीहरूले नीति स्थानीय तहका लागि सान्दर्भिक रहेको उल्लेख गर्दै स्थानीय भूगोल र हावापानी अनुसारको शहरी नीति निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने धारणा राखेका थिए। उनीहरूले शहरी विकासका मापदण्ड, आचारसंहिता तथा व्यवस्थित शहर निर्माणका लागि यस्ता नीतिले मार्गनिर्देशन गर्ने भएकाले यसतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रम समापनका अवसरमा सिम्ता गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले कार्यक्रमबाट प्राप्त सुझाव र छलफललाई स्थानीय तहको नीतिगत अभ्यासमा समेटिने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।

प्रकाशित मिति : २०८३ जेठ ८ गते शुक्रबार
अरु पनि पढ्नुहोस्