
सुर्खेत ।
सिम्ता गाउँपालिकाको सार्बजनिक सुनुवाई विहीबार सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजना तथा गुड अप्सन नेपाल सुर्खेतको सहजीकरण तथा संयोजनमा जामुने बजारस्थित गाउँपालिकाको पुरानो भवनमा सार्बजनिक सुनुवाई सम्पन्न भएको हो । नागरिकका गुनासा सुन्ने तथा गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण तथा आगामी योजना सम्बन्धी जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा करिब दुई सय जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा गाउँपालिकाबाट प्रवाह भइरहेका सेवा–सुविधा, आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका तथा आगामी दिनमा सञ्चालन गरिने योजना, परियोजना, कार्यक्रम र बजेटका विषयमा जानकारी गराइएको थियो । गाउँपालिकाबाट भइरहेको सेवा प्रवाहको प्रभावकारिता, विकास निर्माण कार्यको गुणस्तर तथा महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलक्षित कार्यक्रमका विषयमा समेत छलफल गरिएको थियो ।

सार्वजनिक सुनुवाईमा गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्द, उपाध्यक्ष गोमा शर्मा रेग्मी तथा प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्मा मुख्य जवाफदेही वक्ताका रूपमा सहभागी भएका थिए । कार्यक्रममा सहभागीहरूले सेवा प्रवाह, योजना छनौट प्रक्रिया र सूचना सम्प्रेषणलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन ।
कार्यक्रमका क्रममा गाउँपालिकाले रैथाने तथा सामुदायिक बिउ बैंक स्थापना सम्बन्धी आवश्यक अध्ययन गरी आगामी आर्थिक वर्षमा योजनामा समावेश गर्ने, सामुदायिक तथा सरकारी विद्यालयमा निःशुल्क र अनिवार्य शिक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ । त्यसैगरी गाउँपालिकाबाट सञ्चालन हुने तालिम, अनुदान लगायतका कार्यक्रमको सूचना प्रवाहलाई थप प्रभावकारी बनाउने तथा योजना छनौट प्रक्रियामा टोल तथा बस्ती स्तरको भेलालाई अनिवार्य गरी सात चरण पूरा गरेर योजना छनौट गर्ने प्रतिबद्धता समेत जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्