२०८३ जेठ २३ , शनिबार

जलवायु परिवर्तन अनुकूलनबारे सिम्ताका युवालाई तालिम



सुर्खेत — सिम्ता गाउँपालिका–५ आली र वडा नं. ६ राकमका युवालाई लक्षित गर्दै दुईदिने “जलवायु परिवर्तन तथा अनुकूलनका लागि युवा सशक्तीकरण” कार्यक्रम सम्पन्न भएको छ।
हेल्भेटास नेपालकाे सहयाेगमा सुशान प्रवर्द्धनका लागि युवाले सञ्चालन गरेकाे हाम्राे सहर परियाेजनाकाे आयाेजनामा उक्त कार्यक्रम वैशाख २६ र २७ गते सञ्चालन गरिएको हो।
कार्यक्रममा जलवायु परिवर्तनका प्रभाव, स्थानीय तहमा अपनाउन सकिने अनुकूलनका उपाय, युवाको भूमिका तथा सामाजिक परिचालनका विषयमा छलफल गरिएको आयोजकले जनाएको छ। युवालाई जिम्मेवार र सचेत नागरिकका रूपमा विकास गर्दै सामाजिक गतिविधिमा सक्रिय बनाउन कार्यक्रम आयोजना गरिएको बताइएको छ।
कार्यक्रममा स्रोत व्यक्ति नवीन कुमार शाहीले सहजीकरण गरेका थिए भने हाम्रो शहर परियोजनाका संयोजक खगेन्द्र सिजापतिले सञ्चालन गरेका थिए। कार्यक्रममा समूह छलफल, प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक अभ्याससमेत गरिएको थियो।
दुवै स्थानमा सम्पन्न कार्यक्रममा ४१ जना युवाको सहभागिता रहेको आयोजकले जनाएको छ। सहभागीहरूले जलवायु परिवर्तनका चुनौती, समुदायमा देखिएका प्रभाव तथा सम्भावित समाधानका उपायबारे धारणा राखेका थिए।
कार्यक्रम हेल्भेटास नेपालको सहयोग, सिम्ता गाउँपालिकाको समन्वय तथा सुशासन प्रवर्द्धनका लागि युवा संस्थाको आयोजनामा सम्पन्न भएको हो। संस्थाले विगत दुई वर्षदेखि सिम्ता गाउँपालिकामा सुशासन प्रवर्द्धन, युवा सशक्तीकरण तथा व्यवस्थित सहरीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रकाशित मिति : २०८३ वैशाख २७ गते आइतबार
अरु पनि पढ्नुहोस्