२०८३ जेठ २३ , शनिबार

कांग्रेस–एमाले सहकार्य तत्काल टुट्दैन



धनगढी : नेपाली कांग्रेसका सभापति गगन थापाले एमालेसँगको सत्ता सहकार्य तत्काल नटुट्ने बताएका छन्। प्रदेशहरूमा एमाले कांग्रेसको समीकरण टुट्नेबारे चर्चा चलिरहेका बेला धनगढीमा आयोजित नेपाली कांग्रेसको सुदूपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले अहिलेको राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाहेक अर्को सरकार बन्ने अवस्था नरहेको बताए। उनले एमाले नेतृत्वसँग निरन्तर छलफल भइरहेको उल्लेख गर्दै सरकारको नीति तथा कार्यक्रम तथा बजेटबारे पनि संवाद जारी रहेको बताए।

मधेस प्रदेशमा समेत नेकपासहित छलफल भइरहेको उनले बताए। थापाले कांग्रेस कार्यकर्तालाई पराजित मानसिकताबाट बाहिर निस्केर नयाँ जिम्मेवारी र सोचसहित अघि बढ्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीलाई पाँच वर्ष सरकार चलाउने जनादेश प्राप्त भएको उल्लेख गर्दै उनले कांग्रेसले प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने बताए।

सभापति थापाले गएको फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा जिम्मेवारीमा बसेर पनि असहयोग गर्ने नेता–कार्यकर्तालाई जिम्मेवारीबाट बाहिर राखिने बताए। उनले गत फागुन २१ को निर्वाचनमा रुख चिह्ज छाडेर अन्तै भोट हाल्ने नेता–कार्यकर्ता केही समय जिम्मेवारीबाट बाहिर राखिने चेतावनी दिए।

सुशासनका सन्दर्भमा सरकारले गरेका सकारात्मक प्रयासलाई समर्थन रहने तर शक्ति र सत्ताको आडमा लोकतन्त्र नियन्त्रण गर्न खोजिए कांग्रेस ‘सतीसाल’झैं उभिने उनले बताए।

प्रकाशित मिति : २०८३ वैशाख २७ गते आइतबार
अरु पनि पढ्नुहोस्